मनोरञ्जन

‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आज 

Banner
काठमाडौँ, भदौ  १५ –
 बरिष्ठ लोक गायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयायिमक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ बजे सुरु हुने ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’मा रायमाझीका सबै शैलीका सदाबहार लोकप्रिय गीत सङ्गीतको प्रस्तुती रहने छ । उहाँसँगै सहकार्य गरेका अन्य कलाकारको पनि साथसाथै प्रस्तुती रहने छ ।
स्रष्टा रायमाझीले मार्मिक कथा व्यथामा आधारित सयौँ गीत आमश्रोतमाझ पस्किनुभएको छ । उहाँका  ‘मलाई सम्झी रेलिमै ९कार्गील०’ देखि ‘फुलबुट्टे चोलीमा’, राम्दीपूल तर्ने बित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेउ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाईलगायत प्रस्तुत गर्नुहुने छ ।
नेपालका सबैभन्दा बढी कलाकार आवद्ध रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्धारा आयोजना गर्न लागिएको उक्त पहिलो एकल साँझको तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले जानकारी दिनुभयो । हालसम्म आयोजना गरिएका ‘एकल साँझ’मध्ये ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’ धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने उहाँले दाबी गर्नुभयो । स्रष्टा रायमाझीको प्रस्तुती सुन्न देशभरीबाट कलाकार र दर्शक आउन लागेका प्रतिष्ठानका अध्यक्ष थापा मगरले बतायउनुभयो ।
प्रज्ञा प्रतिष्ठानको हलमा प्रवेश पासको व्यवस्था गरिएको तथा प्रज्ञा प्रतिष्ठानको हल बाहिर प्रतिष्ठान परिसरमा टेलिभिजनमार्फत निःशुल्क हेर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानका कोषाध्यक्ष एवम् गायक तथा सञ्चारकर्मी अमृत अधिकारीले जानकारी दिनुभयो । विवाहमा छोरीलाई बिदाई गर्ने बेला बुवाले दिने आशिर्वादलाई समेटेर बनाइएको स्रष्टा रायमाझीको नयाँ मार्मिक गीत पनि आजै सार्वजनिक गर्न लागिएको उहाँले बताउनुभयो ।  साथै आगामी कात्तिक ३ गतेदेखि प्रदर्शन गर्न लागिएको स्रष्टा रायमाझीको  नयाँ चलचित्र ‘परदेशी–२’ डेमो प्रदर्शन गर्न लागिएको कोषाध्यक्ष अधिकारीले बताउनुभयो ।
स्रष्टा रायमाझी २०४२ सालदेखि निरन्तर लोकगीत, सङ्गीतमा साधनारत हुनुहुन्छ । गीत सङ्गीतका क्षेत्रमा सबैलाई सहयोग गर्ने, नयाँ कलाकारलाई सधैँ उत्प्रेरित गरिरहने स्रष्टा रायमाझीलाई लोक सङ्गीतका  क्षेत्रमा समर्पित बरिष्ठ कलाकारका रुपमा लिइन्छ । बुबा सूर्यबहादुर रायमाझी र आमा कृष्णकुमारी रायमाझीको दोस्रो सन्तानका रुपमा २०२० सालमा पाल्पाको झडेवामा जन्मिनुभएका रायमाझीका दाई लक्ष्मण रायमाझी र भाई दुर्गा रायमाझी पनि चर्चित कलाकार हुनुहुन्छ । दाई लक्ष्मणको केही बर्ष अगाडि निधन भइसकेको छ । भाई दुर्गा प्रतिष्ठानको पूर्व अध्यक्ष तथा हाल सल्लाहकार हुनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>