Breaking News
भरतपुरमा वन्यजन्तु उद्धार केन्द्र निर्माण गरिने

कृष्ण आचार्य,
भरतपुर,भदौ ७-
चितवनको भरतपुरमा वन्यजन्तु उद्धार केन्द्र निर्माण गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र भरतपुर महानगरपालिकाको संयुक्त पहलमा भरतपुर ६ देबनगरमा उद्धार केन्द्र निर्माण गर्न लागिएको हो । उद्धार केन्द्र निर्माणका लागि निकुञ्ज, प्रदेश, संघ सरकार र महानगरपालिकाले संयुक्त रुपमा सहकार्य गर्ने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । उहाँले वन्यजन्तु अबलोकन गर्न मिल्नेगरी उद्धार केन्द्र निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
‘भ्रमण बर्ष २०२४ लाई मध्यनजर गर्दै उद्धार केन्द्र निर्माण गर्न लागेका हौं,उहाँले भन्नुभयो’,पर्यटकका लागि प्रत्येक्ष अवलोकन गर्न मिल्नेगरी वन्यजन्तुलाई प्राकृतिक आवासमा राखिनेछ ।‘ उद्धार केन्द्रमा राखिने वन्यजन्तु भ्रमण बर्षको मुख्य आकर्षणको केन्द्र बन्ने उहाँले बताउनुभयो ।
उद्धार केन्द्र निर्माणका लागि चितवन राष्ट्रिय निकुञ्जले बजेट विनियोजन गरेर विभिन्न संरचना समेत निर्माण गरिसकेको छ । गतवर्ष झण्डै एक करोड बजेट विनियोजन गरेर प्राविधिक र चिकित्सक बस्ने घर निर्माण गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले यस बर्ष पनि निकुञ्जले पचास हजार बजेट विनियोजन गरेको भन्दै दुई वटा बाघ अट्नेगरी खोर निर्माण गर्न लागेको बताउनुभयो ।
’पर्यटनसंग जाड्नेगरी उद्धार केन्द्र निर्माण हुनेछ,उहाँले भन्नुभयो’,निकुञ्जसंग प्रयाप्त स्रोत छैन सबैको सहयोग आवश्यक छ ।’ उहाँले निकुञ्जलाई बाघ पाल्न समेत धौ धौ भएको भन्दै बाघको आवश्यक पालन पोषणका लागि पनि आयआर्जन गर्न जरुरी रहेको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जमा अहिले विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका पाँच वटा बाघ रहेका छन् । उहाँले उद्धार केन्द्रमा वन्यजन्तुको उपचार समेत हुने भन्दै बाघ, गैडा, चित्तल, मृग लगायतका वन्यजन्तु राख्न सकिने गरी संरचना बनाइने जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जको व्यवस्थापन रहनेगरी केन्द्र निर्माण हुने उहाँले बताउनुभयो ।
बरण्डाभार करिडोर क्षेत्रको बरण्डाभार उपभोक्ता समितिको दक्षिणकाली मध्यवर्ती सामुदायिक वनमा उद्धार केन्द्र निर्माण हुने चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङगानाले जानकारी दिनुभयो । उहाँले उद्धार केन्द्र संगै यसलाई खुल्ला चिडियाखानाको रुपमा विकास गरिनुपर्ने बताउनुभयो । उहाँले व्यवस्थित गुरुयोजनाका साथ चिडियाखाना सहितको उद्धार केन्द्र निर्माणका लागि मध्यवर्ती क्षेत्रबाट सुझाब दिइएको बताउनुभयो ।
बुधबार सरोकारवाला सहित महानगरपालिकाको टोलीले उद्धार केन्द्र निर्माण स्थलको स्थलगत निरीक्षण गरेको प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र कुमार रानाले बताउनुभयो । उहाँले महानगरपालिकाले पनि आवश्यक बजेट विनियोजन गर्ने भन्दै केन्द्र र प्रदेश सरकारसंग पनि पहल गरिने जानकारी दिनुभयो । महानगरपालिकाको टोलीले भरतपुर २७ स्थित राइनो पार्कको समेत स्थलगत अनुगमन गरेको थियो ।


























