Breaking News

बस चालकले गाँजा खाएको घटना लुकाउन सञ्चारमाध्यममै पुगेर धम्की दिँदै गैंडाकोटको अक्सफोर्ड कलेज

Banner

चितवन, भदौँ ४–

गैँडाकोटको अक्सफोर्ड कलेजले आफ्नो कमजोरी ढाकछोप गर्न सञ्चारमाध्यमलाई धम्की दिन थालेको छ । अराजक समूह परिचालन गरी कलेजले सञ्चारमाध्यमलाई धम्क्याउन थालेको हो ।

नारायणी अनलाइन डटकममा आज (सोमबार) प्रकाशित ‘गैंडाकोटको अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना’ शीर्षकको समाचारको विषयलाई लिएर अक्सफोर्ड कलेजका सञ्चालक हरि भण्डारीका छोरा रोहन भण्डारी सहितको टोलीले अनलाइनको कार्यालयमा पुगेरै गुण्डागर्दी शैलीमा पत्रकार सञ्चारकर्मीहरुलाई आतंकित पार्ने काम गरेको छ । यस घटनाप्रति नारायणी अनलाइनले गम्भीर ध्यानाकर्षण र भत्र्सना गरेको छ । अनलाइनले एक विज्ञप्ती जारी गर्दै आजको घटनाले सञ्चारमाध्यमलाई आतंकित बनाउने र पत्रकारलाई हतोत्साहित बनाउने कार्य भएकोले सुरक्षाको प्रत्याभूति दिलाइदिनु हुन जिल्ला प्रशासन कार्यालय चितवन समक्ष आग्रह गरेको छ ।

विज्ञप्तीमा भनिएको छ–‘जिल्ला प्रहरी कार्यालय चितवन र चितवन मेडिकल कलेजको आधिकारिक सूचनाको आधारमा नारायणी अनलाइनले प्रकाशित गरेको समाचार माथि चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने अवस्थामा पनि सञ्चार माध्यमको कार्यालयमा आई गुण्डागर्दी शैलीमा धाकधम्की एवम् चेतनावनीपूर्ण भाषा बोल्नुलाई स्वतन्त्र पत्रकारितामाथि धावा बोलेको हाम्रो ठम्याइँ छ । समाचार सत्यतथ्य हुँदाहुँदै पनि सञ्चारमाध्यमको कार्यालयमै आई धाकधम्की दिनुले हामी असुरक्षित महसुस गरेका छौँ । हामी नागरिकलाई सुसूचित गराउने कार्यमा यस्ता धाकधम्कीबाट कत्ति पनि विचलित हुने छैनौं । थप तथ्य र प्रमाण सहित समाजमा भएका बेथितिविरुद्ध कलम चलाउन हामी प्रतिवद्ध छौं । नारायणी अनलाइनले गैंडाकोट नगरपालिकाले गरेको अनुगमनको भिडियो सामग्री र गैंडाकोटको ट्राफिक प्रहरीले गरेको अनुगमनको भिडियोलाई समेत कपोकल्पीत भन्दै अक्सफोर्ड कलेजबाट परिचालित भएका अराजक समूहले मिडियामाथि धम्की दिएको छ । भिडियोमा प्रष्ट देखिएको दृश्यलाई समेत झुटो भन्दै उल्टै गालीगलौजमा उत्रनुले कलेजको चेतनास्तर प्रष्ट पार्छ ।’

सोमबार दिउँसो कलेजको अराजक समूहले चितवन पोष्ट दैनिक र नारायणी अनलाइनमा पालैपाले पुगेर धम्की दिएको हो । कलेजको बसले केहीदिन अघि टिकौली जंगलमा शव बोकेको बलेरो गाडी, मोटरसाइकल र स्कुटर गरि ७ वटा सवारी साधनलाई ठक्कर दिएको थियो । अक्सफोर्ड बसका चालकको लागूपदार्थ सेवन परीक्षण गर्दा चालकले लागूपदार्थ सेवन गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

चितवन पोष्ट दैनिकका प्रवन्ध निर्देशक गोविन्द अर्यालले पनि एक विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेका छन् । विज्ञप्तीमा समाचारको विषयमा सञ्चारमाध्यममै घुसेर हुलहुज्जत गरेर सञ्चारकर्मीलाई आतंकित पारिएको बताएको छ । समाचार सत्यतथ्य हुँदाहुँदै पनि सञ्चारमाध्यमको कार्यालयमै आई धाकधम्की दिँदा असुरक्षित महसुस भएको चितवन पोष्ट दैनिकका प्रबन्ध निर्देशक अर्यालले बताए ।

‘समाचार माथि चित्त नबुझे कानुनी प्रक्रियामा जान सकिने अवस्थामा पनि सञ्चार माध्यमको कार्यालयमा आई धाकधम्की एवम् चेतावनीपूर्ण भाषा बोल्नुलाई स्वतन्त्र पत्रकारितामाथि धावा बोलेको हाम्रो ठम्याइँ छ’, विज्ञप्तिमा भनिएको छ । अक्सफोर्ड कलेजका प्रिन्सिपल समेत रहेका भण्डारीले जारी गरि आफ्नो बस चालकले लागु पदार्थ सेवन नगरेको दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>