चितवन विशेष
बालकुमारी माविका विद्यार्थीलाई मारवाडी युवा मञ्चको शैक्षिक सामग्री

चितवन, साउन २७–
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर मारवाडी युवा मञ्च नारायणगढले शैक्षिक सामग्री वितरण गरेको छ । मञ्चले नारायणगढको बालकुमारी माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ३० जना विद्यार्थीलाई विद्यालय झोला, कापीसहितका शैक्षिक सामग्री वितरण गरिएको मञ्चका उपाध्यक्ष राजु चौधरीले जानकारी दिनुभयो । मञ्चले यसअघि पनि उक्त विद्यालयमा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गर्दै आइरहेकाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शनिबार पनि शैक्षिक सामग्री वितरण गरिएको चौधरीको भनाइ छ । कार्यक्रममा प्रमुख अतिथि भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले मारवाडी युवा मञ्चले शैक्षिक क्षेत्रमा गरेको योगदान तथा सहयोग प्रशंसनीय काम भएको बताउनुभयो ।
आफ्नो वडाले पनि शिक्षा क्षेत्रमा बजेट खर्च गर्ने गरेको उल्लेख गर्दै रानाभाटले विद्यालय उमेरका सबै बालबालिकालाई अनिवार्य आधारभूत शिक्षा प्रदान गराउन काम गरिरहेको बताउनुभयो । विद्यालय उमेरका बालबालिका शिक्षाको उज्यालोबाट वन्चित हुन नपरोस् भनेर वडाले काम गरिरहेको उहाँको भनाइ छ ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भट्टराई, विद्यालयका प्रधानाध्यापक आनन्द सापकोटा, नेपाल राष्ट्रिय मारवाडी युवा सङ्गठनका उपाध्यक्ष नितेश महेश्वरीलगायतको सहभागिता रहेको थियो । शैक्षिक सामग्री वितरण कार्यक्रम मारवाडी युवा मञ्च नारायणगढका अध्यक्ष सञ्जय अग्रवालको अध्यक्षतामा भएको थियो ।

























