चितवन विशेष
एमालेमा अध्यक्ष ओलीको विकल्प छैनः नेता बस्नेत

चितवन,साउन १५-
नेकपा (एमाले) का नेता तथा पूर्व मन्त्री महेश बस्नेतले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको बताउनुभएको छ । आज (सोमबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता बस्नेतले ओलीकै नेतृत्वमा आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने बताउनुभयो । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको एमाले युवा नेताहरु नेतृत्वप्रति प्रश्न गर्न डराउँछन् भन्ने अभिव्यत्तीप्रति लक्षित गर्दै नेता बस्नेतले पार्टी नेतृत्वलाई खुइल्याएर अघि बढ्ने पक्षमा एमालेका युवा नेताहरु नरहेको बताउनुभयो । उहाँले पार्टी अध्यक्षको लाइट र हाइट बढाउने पक्षमा एमालेका सबै नेताहरु एकताबद्ध रहेको उल्लेख गर्नुभयो ।
‘पार्टीको नेतृत्वप्रति बोल्न नसक्ने होइन,उहाँले भन्नुभयो,हामी नेतृत्वको उचाई झन् बढाउन चाहान्छौं ।’ उहाँले पार्टीका सबै नेता कार्यकर्ता अध्यक्ष ओलीको सहयोग रहेको भन्दै कसैलाई पनि प्रधानमन्त्री र संसदीय दलको नेता बन्ने लालसा नभएको बताउनुभयो । मुलुकको निर्माण र स्थिरताका लागि केपी ओली जत्तिको नेता नभेटिएको उहाँको भनाई छ । ‘सिद्धान्त, विचार र अडान बोकेको पार्टी एमाले हो, अध्यक्षको दुरदृष्टीले संमृद्ध नेपालको सपना साकार हुन्छ,नेता बस्नेतले भन्नुभयो ।’
उहाँले विभिन्न भ्रष्टाचार र सुन काण्डको निष्पक्ष छानविन हुनुपर्ने बताउनुभयो । गृहमन्त्री र अर्थमन्त्रीले मार्ग प्रशस्त गरेर छानविनलाई सहयोग गर्नुपर्ने भन्दै उहाँले आरोपितहरुको तस्विर शिर्ष नेताहरुसंग जोडेर आइरहेकाले त्यसको पनि गम्भिरताका साथ छानविन हुनुपर्ने बताउनुभयो । अर्को प्रशंगमा नेता बस्नेतले पार्टीले सदस्यता संख्या बढाइने जानकारी दिनुभयो । युवा संघ मार्फत चार लाख नयाँ सदस्यता वितरण गर्न लागेको भन्दै उहाँले युवासंघलाई नव युवाहरुको संगठन बनाउने अभियानमा लागको बताउनुभयो ।
























