चितवन विशेष
‘आमाको घर आश्रम’ को पार्कमा रोटरी क्लब अफ नारायणगढको वृक्षरोपण

चितवन, साउन १३-
ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले मकवानपुरको मनहरीमा सञ्चालन गरेको आमाको घर आश्रमको पार्कमा रोटरी क्लब अफ नारायणगढले वृक्षरोपण गरेको छ ।
आमाको घरबाट संरक्षित पार्कमा शनिबार विभिन्न प्रजातिका १०० बढी विरुवा रोपेको छ । हरियो नेपालको अवधारणासहित एक लाख विरुवा रोप्ने रोटरीको अभियानअन्र्तगत वृक्षारोपण गरिएको हो ।
नारायणघाट रोटरीले आश्रमका लागि एक लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको क्लबले जनाएको छ । आध्यात्मिक चिन्तनसहित स्थापना गरिएको वृद्धाश्रममा कार्यक्रम गरेर नयाँ कार्यकाल सुरु गर्ने क्लबको योजना अनुसार कार्यक्रम गरिएको हो । क्लबका अध्यक्ष भोलानाथ लामिछानेले सामाजिक भावसँग जोडिएको कारण आश्रममा समर्पित गरेर कार्यक्रम आयोजना गरेको बताए ।
आश्रमका विजयराज सिग्देलले आमालाई स्वतन्त्रापूर्वक बस्नका लागि बनाइएको आश्रमको रुपमा परिचय गराए । कार्यक्रम संयोजक सहनलाल प्रधानले स्वार्थ भन्दामाथि सेवा भन्ने नारा बोकेको रोटरीको मान्यता अनुसार आमाको घरमा पहिलो कार्यक्रम समर्पित गरेको बताए । आश्रममा आवश्यक परेको खाद्यान्न सहयोग गरेको बताए ।
कार्यक्रममा नारायणगढ रोटरीको स्पाउस क्लबकी अध्यक्ष पूर्णिमा श्रेष्ठ, क्लबका सचिव सेवन पन्त, मनहरी गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेतीलगायतले बोलेका थिए ।
कार्यक्रममा क्लबका सदस्य दिपेन्द्र श्रेष्ठले आफ्ना बुवाको स्मृतिमा २० हजार रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै सुमनराज श्रेष्ठ र निरा श्रेष्ठले पनि आश्रमलाई पाँच हजार रुपैयाँ नगद सहयोग गरेका थिए । उक्त कार्यक्रममा आमाको घर आश्रमले रोटरी क्लबका अध्यक्ष भोलानाथ लामिछाने र स्पाउस क्लबकी अध्यक्ष पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको गरेको थियो ।
























