Breaking News

चितवनमा ४ अर्ब ८४ करोड ३८ लाख विकास बजेट फ्रिज

Banner

चितवन, साउन १०-
चितवनमा आर्थिक बर्ष २०७९/०८०मा ३७ प्रतिशत विकास बजेट फ्रिज भएको छ । संघिय सरकार र प्रदेश सरकारबाट विनियोजित बजेट मध्येबाट ४ अर्ब ८४ करोड ३८ लाख ४१ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका अनुसार  जिल्लामा संघ र प्रदेश सरकारको पूँजीगत बजेट १३ अर्ब ७ करोड २० लाख २८ हजार रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये ९ अर्ब ३७ करोड ७ लाख ५३ हजार रुपैयाँ मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका सूचना अधिकारी मुक्तिप्रसाद चापागाईले जानकारी दिए ।

संघिय सरकारबाट चितवनका लागि ९ अर्ब २३ करोड ७५ लाख ५३ हजार ५१७ रुपैँयाँ पूँजिगत बजेट विनियोजन भएको थियो । त्यसमध्ये ६ अर्ब ६९ करोड २१ लाख १७ हजार ९९९ रुपैयाँ मात्र खर्च हुन सकेको चापागाईले बताए । यसरी संघको विकाश खर्चको वित्तिय प्रगती हेर्दा ७२ प्रतिशत मात्र देखिन्छ ।

चितवनमा संघ र प्रदेशको कुल बजेट २९ अर्ब ३२ करोड २८ लाख ३५ हजार रुपैयाँ थियो । २४ अर्ब ४८ करोड ६९ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ । यसरी हेर्दा ८३ प्रतिशत वित्तिय प्रगती भएको देखिन्छ । तर, चालु तर्फ खर्च बढी हुँदा समग्रमा वित्तिय प्रगती सन्तोस जनक देखिएको हो ।

चितवनमा पूँजीगत बजेटभन्दा चालु बजेट बढी थियो । यसको वित्तिय प्रगती पनि राम्रो छ । संघ र प्रदेशको चालु बजेट १६ अर्ब २५ करोड ८१ हजार रुपैयाँ थियो । संघ तर्फ चालु बजेट १४ अर्ब २० करोड ४ लाख ६४ हजार ५८२ रुपैयाँ थियो । संघ तर्फको चालु खर्च ९५ प्रतिशत छ । १३ अर्ब ४४ करोड ४० लाख ७४ हजार रुपैयाँ खर्च भएको छ । संघ तर्फको चालु खर्च सबैभन्दा बढी वीपी कोइराला क्यान्सर अस्पतालको हुन सकेको छैन । अस्पतालमा कार्यकारी नहुँदा बैशाखदेखि त्यहाँका कर्मचारीले तलब पाएका छैनन् । ३ करोड हाराहारीमा क्यान्सरको चालु तर्फको रकम फ्रिज भएर फिर्ता भएको छ । प्रदेश तर्फको चालु बजेट २ अर्ब ५ करोड ३ लाख रुपैयाँ थियो । त्यसमध्ये १ अर्ब ६७ करोड २१ लाख रुपैयाँ खर्च भएको छ ।

चितवनमा संघ तर्फ चालु र पुँजिगत गरी कुल बजेट २३ अर्ब ४३ करोड ८० लाख १४ हजार रुपैयाँ थियो । त्यसमध्ये २० अर्ब १३ करोड ६१ लाख ९२ हजार रुपैयाँ खर्च भएको छ । पूँजिगत र चालु तर्फको बजेट हेर्दा वित्तिय प्रगति सन्तोसजनक रहेको चापागाइँले बताए । ‘संघको चालु खर्च ९४ प्रतिशत भएको छ । पूँजिगत खर्च ७२ प्रतिशत देखिन्छ । यसरी समग्रमा ८५ दशमलव ९१ प्रतिशत खर्च भएको छ’– उनले भने ।

सघन शहरी तथा भवन निर्माण योजनाको १ अर्ब २१ करोड फ्रिज

संघिय कार्यालय तर्फ सबैभन्दा बढी संघन शहरी तथा भवन निर्माण आयोजनाको पूर्वाधार विकास तर्फको बजेट फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार यस कार्यालयको ५२ प्रतिशत विकास बजेट खर्च हुन नसकेकार फिर्ता भएको छ । २ अर्ब ३६ करोड ८२ लाख ५९ हजार ७५० रुपैयाँ पूजिगत बजेट रहेको कार्यालयले १ अर्ब १५ करोड ६० लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।

बहुँबर्षिय योजनाहरुमा ठेक्का लाग्न नसक्दा बजेट फ्रिज भएर फिर्ता गएको आयोजनाका प्रमुख झपट बहादुर थापा बताउँछन् । ‘नमुना सदरमुकाम, रिऊ खोला करिरोड, अस्पताल निर्माण लगायतका बहुबर्षिय योजना थिए । ठेक्का लाग्नै सकेन,’ उनले भने ‘अधिकांश योजना जग्गा अभावका कारण सुरु हुन सकेनन् ।’ यस कार्यालयले मकवानपुर, चितवन, नवलपरासी(बर्दघाट सुस्ता पूर्व र पश्चिम) हेर्दछ । नयाँ बनेको जिल्लामा नमुना सदरमुकाम बनाउने गरी कार्यक्रम परेको थियो । त्यसमा संघन सडक, ढल, फुटपाथ, सरकारी भवन निर्माणका लागि ४३ करोड बजेट विनियोजन भएको थियो । ९ बर्षिय योजना अन्तरगत बजेट माग गरी डिजाइन अघि सारेपनि टेन्डर समेत हुन नसकेको उनले बताए ।

माडीका रिऊ खोला करिरोड निर्माणका लागि ४ करोड बजेट विनियोजन भएको थियो । टेण्डर समेत ननिकालि रकम फिर्ता भएको छ । बर्दघाट ट्रमा सेन्टरको ५ करोड, आयूर्वेद अस्पतालको ३ करोड रुपैयाँ फ्रिज भएको उनले बताए ।

नारायणगढ मुग्लिन सडक आयोजनाको ३५ प्रतिशत मात्र वित्तिय प्रगति भएको छ । ८९ करोड १ लाख ५० हजार रुपैयाँ बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । आयोजनाको १ अर्ब ३९ करोड १७ लाख २४ हजार पूर्वाधार विकास बजेट रहेकोमा ५० करोड १५ लाख रुपैयाँ मात्र वित्तिय प्रगति भएको छ ।

यसअघिका बर्षमा सबैभन्दा बढी बजेट फ्रिज हुने सडक डिभिजन कार्यालय, जलस्रोत तथा सिँचाई विकास डिभिजन, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको पूँजिगत तर्फको वित्तिय प्रगति सन्तोषजनक नै छ । सडक डिभिजन कार्यालय भरतपुरको यस बर्षको वित्तिय प्रगति ८९ प्रतिशत रहेको छ । १ अर्ब ७९ करोड ६२ लाख ७३ हजार पूँजिगत बजेट रहेको कार्यालयले १ अर्ब ५८ करोड ६८ लाख १९ हजार खर्च गरेको छ । यस बर्ष ११ प्रतिशत रकम मात्र फिर्ता भएको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको पूर्वाधार विकास अन्तगरगत विनियोजन भएको ५५ प्रतिशत रकम फ्रिज भएर फिर्ता भएको छ । पूर्वाधार तर्फ ५ करोड रकम रहेको क्यान्सर अस्पतालको २ करोड ७५ लाख रुपैयाँ खर्च नभएर फिर्ता भएको छ । अस्पतालले २ करोड २५ लाख रुपैयाँको मात्र काम गरेको छ । अस्पतालमा कार्यकारी निर्देशक नहुँदा यहाँ समस्या देखिएको हो ।

प्रदेशको तर्फको ३१ प्रतिशत पुँजिगत बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेशको १ अर्ब ५३ करोड ४० लाख १८ हजार रुपैँया खर्च हुन नसकेर फिर्ता भएको छ । प्रदेश सरकारको ३ अर्ब ८३ करोड ४४ लाख ७४ हजार रुपैयाँ पूँजीगत बजेट रहेको जिल्लामा २ अर्ब ६७ करोड ८६ लाख रुपैयाँ मात्र खर्च भएको कार्यालयले जानकारी दिएको छ । प्रदेश तर्फको सबैभन्दा बढी नारायणी लिफ्ट खगेरी सिँचाई व्यवस्थापन डिभिजन कार्यालयको बजेट फिर्ता भएको छ । समयमा काम हुन नसकेर १७ करोड १ लाख १९ हजार रुपैँया फिर्ता भएको छ । २५ करोड ३५ लाख बजेट मध्ये ८ करोड ३३ लाख रुपैयाँ मात्र खर्च हुन सकेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसरी विकास बजेट खर्च हुन नसक्नुमा राज्यको नीति नै प्रमुख कारण रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका प्रमुख मणिभन्द्र न्यौपाने बताउँछन् । ‘योजना र कार्यक्रमहरु बीच तारताम्यता मिलेको छैन । योजना छनोटमा पनि समस्या छ । सरकार परिर्वतन हुँदा पुराना छाड्ने र नयाँ योजना बनाउने चलन छ,’ उनले भने, ‘ठेक्काको म्याद थप गर्न नियमावलि नै संशोधन गरिन्छ ।’ यसपटक स्रोत समयमै बजेटको फुकुवा नहुँदा केही समस्या भएको उनले बताए । योजनाहरुको अनुगमन नहुँदा समेत कार्यक्रमहरु समयमै समपन्न नभएको उनको भनाई छ ।

३५ प्रतिशत रकम असारमा भुक्तानी

कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनबाट विकास बजेटको ३५ प्रतिशत रकम असारमा मात्र भुक्तानी भएको छ । जिल्लाका कार्यालयहरुले असार महिनामा मात्रै २ अर्ब २४ करोड ७५ लाख ९३ हजार रुपैयाँ भुक्तानी लगेका छन् । संघ तर्फको ९ अर्ब २३ करोड ७५ लाख ५३ हजार रहेको पुँजिगत बजेट मध्ये ६ अर्ब ६९ करोड २१ लाख १७ हजार ९९९ रुपैयाँको वित्तिय प्रगति भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>