Breaking News
सरकारको ऋण २२ खर्ब २१ अर्ब पुग्यो

काठमाण्डौँ साउन ७-
पछिल्लो ५ वर्षमा नेपालको सार्वजनिक ऋण दोब्बर भन्दा धेरैले बढेको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (पीडीएमओ)का अनुसार आर्थिक वर्ष २०७९/ ८० सम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यस अवधिसम्म आन्तरिक ऋण ११ खर्ब २८ अर्ब ३२ करोड रुपैयाँ र बाह्य ऋण १० खर्ब ९३ अर्ब ३४ करोड पुगेको छ । आर्थिक वर्ष २०७५/७६ मा सार्वजनिक ऋण १० खर्ब ४८ अर्ब रुपैयाँ मात्र थियो ।
कार्यालयका प्रमुख भूमिराज शर्मा यस अवधिमा भूकम्पपछिको पुनर्निर्माणमा लिइएको ऋण तिर्न बाँकी नै हुँदा फेरि कोभिड– १९ महामारीमा लिइएको ऋणले सार्वजनिक ऋण उच्च दरले बढेको बताउँछन् ।
सरकारले लिएको दोब्बर ऋणको प्रभावकारितामा भने अहिले पनि प्रश्न उठ्ने गर्छ । ऋणको उपयोगितालाई सरकारले गरेको खर्चसँग तुलना गरी विश्लेषण गर्नुपर्ने कार्यालयका प्रमुख शर्मा बताउँछन् । एक बर्षमै २ खर्ब २१ अर्ब पुगेको छ ।
आर्थिक वर्ष २०७८/७९ को अन्तिमसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा मात्र २ खर्ब ८ अर्ब ३८ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । यो रकम नेपाल सरकारले यस वर्ष भुक्तानी गरेको ऋण घटाएर थपिएको खुद सार्वजनिक ऋण हो ।


























