चितवन विशेष

गैँडाको बासस्थान र प्रजननका लागि उपयुक्त भरतपुरको ज्ञानेश्वर ‘ब्लक’

Banner

भरतपुर,असार ४-

दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थानका रुपमा चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । निकुञ्जसँगै यहाँ रहेका सामुदायिक वन पनि गैँडाका लागि उपयुक्त बासस्थानका रुपमा रहेका छन् ।

कतिपय सामुदायिक वनले गैँडा देखाएर पर्यटन प्रबद्र्धनका साथै आयस्रोतको माध्यामसमेत बनाएका छन् । गैँडाका लागि भरतपुरको ज्ञानेश्वर ‘ब्लक’ क्षेत्र पनि उपयुक्त बासस्थान बनेको छ । यहाँका सामुदायिक वन गैँडाको प्रजननका लागि उपयुक्त क्षेत्र बन्दै गएका छन् ।

ज्ञानेश्वर ब्लक अन्तर्गत पाँच सामुदायिक वन रहेका छन् । यी सामुदायिक वन गँैडाको बासस्थानका लागि उपयुक्त क्षेत्र बनेको डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनाल बताउनुहुन्छ । “बच्चासहितका गैँडा यहाँ प्रशस्त देखिन्छन्”, उहाँले भन्नुभयो, “प्रजननका लागि पनि गैँडाले यहाँका सामुदायिक वनलाई सुरक्षित महसुस गर्ने गरेका छन् ।” उहाँले यो क्षेत्रमा एकैपटक १४ सम्म गैँडा एकै ठाउँमा देखिएको बताउनुभयो । यो क्षेत्रमा २०/२५ गैँडा नियमित रुपमा देखिने गरेको उहाँले बताउनुभयो ।

ज्ञानेश्वर ब्लक अन्तर्गत भरतपुर महानगरपालिका–४ को नारायणी सामुदायिक वन, भरतपुर–१६ को ज्ञानेश्वर सामुदायिक वन, सेतीदेवी सामुदायिक वन र सिद्धिगणेश सामुदायिक वन तथा भरतपुर–१७ को मझुवा सामुदायिक वन रहेका छन् । यी सामुदायिक वनमा घाँसेमैदान र पोखरीको स्रोतको राम्रो व्यवस्थापन भएका कारण गैँडाका लागि उपयुक्त बासस्थान भएको खनालले बताउनुभयो ।

ज्ञानेश्वर ब्लक निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको छ । सबै सामुदायिक वनको पश्चिम क्षेत्रमा नारायणी नदी छ । “अन्य वन्यजन्तु र मानिसको समेत अवरोध कम हुने भएका कारण पनि यहाँ गैँडाका लागि उपयुक्त छ”, खनालले भन्नुभयो । उहाँले सामुदायिक वनहरुमा घाँसे मैदान र पोखरी निर्माणका लागि डिभिजन वन कार्यालयले सहयोग गरेको बताउनुभयो ।

सेतीदेवी सामुदायिक वनका अध्यक्ष सुकमान घलेले गैँडाका लागि उपयुक्त बासस्थान निर्माणको काम गरिएको बताउनुभयो । उहाँले गैँडाको बासस्थान र प्रजननमा सहयोग पुग्नेगरी घाँसेमैदान र पोखरी निर्माण गरिएको बताउनुभयो । सेतीदेवी सामुदायिक वनमा मात्र पाँच पोखरी रहेको उहाँले जानकारी दिनुभयो ।

“वनभित्र रहेका सात ब्लकमध्ये एउटा ब्लकमा मान्छेको प्रवेश पनि निषेध गरेका छौँ”, उहाँले भन्नुभयो, “वन्यजन्तुलाई अवरोध हुने गतिविधिमा रोक लगाएका छौँं ।” उहाँले बच्चा जन्माउनकै लागि गैँडा यहाँ आउने गरेको बताउनुभयो । उहाँले आन्तरिक स्रोतबाट पनि वनभित्र सिमसार क्षेत्र निर्माणका लागि काम गरिरहेको जानकारी दिनुभयो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जसँगै आसपास रहेका सामुदायिक वन पनि गैँडाको बासस्थान र प्रजननका लागि उपयुक्त रहेको बताउनुभयो । उहाँले निकुञ्जको भित्रि क्षेत्र, घाँसेमैदान र ताल क्षेत्रमा बच्चासहितका गैँडा धेरै देखिने गरेको बताउनुभयो । निकुञ्जको मध्यवर्तीसँग जोडिएको ज्ञानेश्वर ब्लक क्षेत्र पनि गैँडा धेरै देखिने क्षेत्र रहेको उहाँको भनाइ छ ।

गैँडा पाँच वर्षको उमेरपछि प्रजननका लागि तयार हुन्छ । घाँस राम्रो भएको समयमा गैँडामा सम्भोग गर्ने शक्ति बढ्नुका साथै गर्भका लागि तयार हुने गरेको तिवारीले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>