Breaking News

भरतपुरका पसल तथा होटलमा महानगरको छापा, अखाद्य वस्तु राख्ने दुई पानीपुरी पसल बन्द

Banner

चितवन, साउन २-

अखाद्य वस्तुको प्रयोग गरेको पाइएपछि भरतपुरका दुई पानीपुरी बनाउने पसल बन्द गरिएको छ ।

आज बिहान भरतपुर महानगरले गरेको बजार अनुगमनमा भरतपुर–१० का दुई पानीपुरी बनाउने पसलले अखाद्य वस्तु   प्रयोग गरेको पाइएपछि बन्द गराइएको हो ।

सप्तगण्डकी चोक र ज्ञानदर्शन सडकमा रहेको पानीपुरी बनाउने दुई पसल बन्द गराइएको महानगरपालिकाले जनाएको छ । बजारमा विशेष गरी अखाद्य बस्तुको खुलेआम बिक्री बितरण भइरहेको लिखित उजुरी आएपछि महानगरले ती पसलको अनुगमन गरेको थियो । भरतपुर–१० स्थित पुरानो ज्ञानदर्शन सडक र सप्तगण्डकी चोक नजिकै रहेको २ वटा पानीपुरी बनाउने साना उद्योगहरु हालका लागि बन्द गराइएको वडा अध्यक्ष परमेश्वर खनालले जानकारी दिए । उनले भने, ‘यी दुबै पानीपुरी पसल बन्द भएका छन्, अब सरसफाइ गरेर प्रक्रिया पु¥याएर आएको खण्डमा हेरफेर गर्न सकिन्छ ।’
त्यसैगरी अनुगमन समितिले भरतपुर–१० अस्पताल सडकमा रहेको न्यु थकाली होटल एण्ड तन्दुरी रेष्टुरेन्ट र छहारी तन्दुरी होटलको अनुगमन गरेको छ । अनुगमनका क्रममा पानीपुरी पसलहरु दर्ता नगरी सञ्चालन गरिएको,पानीपुरी बनाउन प्रयोग गरिने मसला, अमिलो र रंग अखाद्य भेटिएको छ । त्यस्तै होटल तथा रेस्टुरेन्टमा अखाद्य तेल प्रयोग भएको, सरसफाइमा ध्यान नदिएको, भान्छामा खाना पकाउदा साबधानी नअपनाइएको पाइएको समितिले जनाएको छ ।

अनुगमनको क्रममा अघिल्ला आर्थिक वर्षहरुमा गरिएको बजार अनुगमन निकै प्रभावकारी भएको उल्लेख गर्दै भरतपुरका उपमेयर चित्रसेन अधिकारीले चालू आर्थिक वर्षमा पनि बजार अनुगमनले थप निरन्तरता पाउने बताए । उनले भने, ‘यो वर्ष महानगरले बजार अनुगमनलाई अझ शशक्त रुपमा लैजाने तयारी गरी काम सुरु गरेको छ ।’

स्वच्छ एवम् उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अनुगमनलाई निरन्तरता दिएको हो । बजारको नियमित अनुगमनका लागि महानगरले निरीक्षण अधिकृत र अनुगमन टोली बनाएर बजारको व्यवस्था हेर्ने कामलाई तीव्र बनाएको छ ।

अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफूल, माछा, मासु, दूध तथा दुग्धजन्य खाद्यवस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको छ । बजार अनुगमन समितिका सदस्य विष्णुबहादुर भुजेलले भने, ‘यति मात्र नभई सबै प्रकारका क्षेत्रहरुको पनि महानगरले छड्के अनुगमन गर्ने छ । ’ उपभोग्य सामान मात्र बिक्री वितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीब्र बनाइएको भरतपुर महानगरपालिकाले जनाएको छ । बजार अनुगमन कार्य भरतपुर महानगरअन्तर्गतको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्य मै पर्छ ।
बजारमा हुने कालोबजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथिको अनुगमन तथा निरीक्षण कार्यलाई भरतपुर महानगरपालिकाले निरन्तरता दिइरहेको छ । नियमित सयुक्त बजार अनुगमनको टोलीले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको हो ।

व्यबसायीहरुलाई मापदण्ड अनुसार आफ्नो व्यापार सञ्चालन गर्न, मूल्य सूची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन, बिल भरपाईलाइ छरितो बनाउन, चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुमा कालो बजारी नगर्नका लागि सजग गराइएको छ । उपभोक्ताहरुको हितलाई ध्यानमा राखी स्वच्छ बजार कायम राख्न भरतपुर महानगरले आफ्नो क्षेत्र भित्र हुने स्थानीय बजारमा अनुगमनलाई तीब्रता दिएको छ ।

बजार अनुगमनमा गएको टोलीले बजार अनुगमनलाई औपचारिक भन्दा पनि प्रभावकारी बनाएर जाने निर्णय गरेको छ । ‘वस्तु वा सेवाका उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, संकलनकर्ता बजारसँग सम्बन्धित पक्ष हुन् । यी पक्षको दर्ता, अनुमति, सिफारिस, नविकरण हामीले हेर्ने गरेका छौँ’ उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत थानेश्वर सापकोटाले भने । अनुचित व्यापारिक क्रियाकलाप र बजारको तह निर्धारण महानगरसँग सम्बन्धित विषय हुन् । उपभोक्ता सरक्षण ऐन–२०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाई बजार अनुगमन गर्ने अनुमति प्रदान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>