चितवन विशेष

ज्येष्ठ नागरिकको रोजाइमा भरतपुर अस्पताल, बेडकै अभाव

Banner

चितवन, साउन २-

भरतपुर अस्पतालमा उपचारको लागि ज्येष्ठ नागरिकको आकर्षण बढ्दै गएको छ ।

ज्येष्ठ नागरिकहरुलाई निःशुल्क एवम् सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने भएकोले ज्येष्ठ नागरिक बिरामीको आकर्षण रहेको पाइएको हो ।

अस्पतालमा ज्येष्ठ नागरिकका लागि तोकिएको १० बेडमा बिरामी नअटेर अन्यत्र राख्नुपर्ने बाध्यता छ । सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक जेरियाट्रिक स्वास्थ्य सेवा मार्गदर्शन बनाएपछि २०७४ सालबाट भरतपुर अस्पतालले ज्येष्ठ नागरिकलाई १० बेड छुट्याएको हो । अस्पतालमा ज्येष्ठ नागरिकलाई छुट सुविधा उपलब्ध हुने भएपछि वृद्धवृद्धाको संख्या बढ्दै गएको छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट कृष्णप्रसाद पौडेलले अस्पतालमा १० वटा बेड साँघुरो भएकोले वृद्धवृद्धालाई अन्यत्र राख्नुपर्ने बाध्यता आइपरेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ सरकारले वृद्धवृद्धाका लागि दिएको सुविधा प्रभावकारी बन्दै गएको छ । चितवनका मात्र नभई देशका विभिन्न जिल्लाबाट वृद्धवृद्धाहरु अस्पतालमा उपचार गर्न आउने भएकोले तोकिएको ठाउँले मात्र नपुग्ने भएको छ । ’ अस्पतालले ८४ वर्षमाथिकालाई निःशुल्क उपचार, ७० भन्दा माथिका वृद्धवृद्धाको लागि ७५ प्रतिशतसम्म छुट गराउँदै आएको छ ।
तोकिएको अस्पतालमा उमेरहद, शारीरिक अशक्तता र आर्थिक स्थितिको मापदण्डका आधारमा सेवा दिनुपर्छ । ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ

नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट र यस्तै ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट अनुसार निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्ने सवास्थ्य मन्त्रालयको मार्गदर्शनमा उल्लेख छ । यसैगरी ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा अस्पताल व्यवस्थापनबाट उपदफामा तोकिएका सेवाहरुको दायरा बढाइ स्वास्थ्य उपचार सेवामा ७५ प्रतिशत छुट दिनुपर्ने छ ।

यसैगरी ८० देखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई उपदफामा तोकिएका सेवाहरुको दायरा बढाइ स्वास्थ्य उपचार सेवामा शतप्रतिशत छुट दिनुपर्ने छ । अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गर्दा लागेको खर्चमा कुनै छुट सुविधा नहुने भएकोले पनि सरकारी अस्पतालमा बिरामीको आकर्षण बढेको हो । अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवालाई ज्येष्ठ नागरिक मैत्री बनाउन आकस्मिक, बहिरङ्ग र अन्तरङ्गसेवा दिन सहज हुने पूर्वाधारको निर्माण हुँदै गएको छ । भरतपुर अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गराउन आएका गोरखा भच्चेकका सुनिल गुरुङले वृद्धवृद्धा धेरै बिरामी पर्ने भएकोले सरकारी अस्पताल सजिलो लाग्ने बताए । उनले भने, ‘ हजुरबुबा ७० वर्ष उमेर पार गरिसकेकोले समयसमयमा जचाँइरहनुपर्छ । औषधि पनि खाइरहनु पर्छ तसर्थ आर्थिकरुपमा पनि भरतपुर अस्पताल नै ठिक लाग्छ ।’ सरकारले भरतपुर अस्पतालसहित देशभरका ६२ अस्पतालमा वृद्धवृद्धाको उपचारका लागि विशेष सुविधा दिने व्यवस्था गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>