देश/प्रदेश
नयाँ पार्टीप्रति विश्वप्रकाशको व्यङ्ग्यः खहरेबाट बिजुली निकाल्न सकिँदैन, नदी नै चाहिन्छ

काठमाडौं, असार ३०–
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरूप्रति कटाक्ष गरेका छन् ।
पुराना पार्टीका दिनहरू गए भन्दै आएका नयाँ पार्टीहरूले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरू सबै पुराना हुन् भनेर बिर्सन नहुने बताए । उनले पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताए ।
निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत् उत्पादन गर्न सक्छ भन्ने कुरा नबिर्सिन नयाँ राजनीतिक दलहरूसँग आग्रह गर्दै महामन्त्री शर्माले कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकताबद्ध बन्नुपर्ने बेला आएको बताए ।
उनले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रूपमा अभियान घोषणा गरी पुरानो दललाई तरोतजकी बनाएर नवीन बनाउने क्रम शुरु हुने बताए । महामन्त्री शर्माले कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मिटरब्याजबिरुद्धको विधेयकमाथि चुनौती आउन लागेको भन्ने कुरा राखेको भन्दै मन्त्रीहरूबाट यस्तो जवाफ सुन्न नचाहेको बताए । उनले सबैखालका चुनौतीलाई चिरेर मिटरब्याजको विधेयक संसदमा ल्याउनुपर्ने बताए ।






















