क्रिकेट
युवा क्रिकेटर सुर्यांशुलाई चितवन जिल्ला क्रिकेट संघले गर्यो सम्मान

चितवन, असार २६–
नेपाली यु–१६ का ब्याटर सुर्यांशु कोइराला चितवन जिल्ला क्रिकेट संघले सम्मान गरेको छ ।
गत हप्ता मलेसियामा एसीसी यू १६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीका महत्वपूर्ण सदस्य सुर्यांशुलाई उनको गृह जिल्ला चितवन जिल्ला क्रिकेट संघले बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नगद २५ हजार सहित सम्मान गरेको हो ।
प्रतियोगितामा सुर्यांशुले नेपाल यू १६ बाट सबै चार खेल खेलेका थिए । उनले सेमिफाइनलमा इन्डोनेसियाविरुद्ध नेपालबाट सर्वाधिक ४३ रन बनाएका थिए भने फाइनलमा मलेसियाविरुद्ध उनले १८ रन बनाएका थिए । समूह चरणको खेलमा उनले थाइल्यान्डविरुद्ध ४० र मलेसियाविरुद्ध २९ रन बनाएका थिए ।
कार्यक्रममा नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंह, सदस्य प्रशान्तविक्रम मल्ल, चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष उमेश पिया, सदस्यहरु उत्सव श्रेष्ठ र राजु गुप्ताले सुर्यांशुलाई सम्मान गरेका थिए । सुर्यांशुका व्यवस्तताका कारण काठमाडौंमा कार्यक्रम गर्नु परेको चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष पियाले जनाए ।
नयाँ प्रतिभावन खेलाडीलाई प्रोत्साहन गर्नु जिल्लाको दायित्व भएको उनले बताए ।
भारतको भोपालमा क्रिकेट स्कुलमा पढ्दै आएका सुर्यांशु केही दिनमा त्यत्ता लाग्दै छन् । सुर्यांशु चितवनबाट बागमती प्रदेश यु १६ छनोट प्रतियोगिता खेल्दै महत्वपूर्ण छाप छोडेका थिए । लगत्तै उनी बागमतीको टिमबाट राष्ट्रिय यु १६ प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिमको ढोका खोलेका थिए । उनले राष्ट्रिय टिमबाट पनि आफ्नो क्षमता देखाएका थिए । ओपनिङ व्याटिङ गर्ने गरेका सुर्यांशु नेपालको भविष्यको महत्वपूर्ण क्रिकेटरको रुपमा हेरिएको छ ।
























