अर्थ
जापानबाट फर्केका युवाले भरतपुरमा खोले जापानीज चेन रेष्टुरेन्ट,ढुंगामा पकाएका मासुका परिकार पाइने

चितवन, असार २३-
भरतपुर महानगरपालिका–१४ शिवनगरका युवा कृष्ण पौडेलले जापानीज चेन रेष्टुरेन्ट याप्पारी स्टेकको आउटलेट चितवनमा खोलेका छन् । फरक स्वादमा ढुंगामा पकाएका मासु खुवाउने उदेश्यले भरतपुर–१० स्याउली बजारमा याप्पारी स्टेकको आउटलेट सञ्चालन गर्न लागिएको हो । दुई करोड लगानी रहेको याप्पारी स्टेकको औपचारिक उद्घाटन यहि असार २९ गते हुँदै छ ।
सन् २०१४ जनवरीमा जापान गएका पौडेल फेरि नजानेगरी ९ वर्षपछि स्वदेश फर्किएका हुन् । उनि नेपालमा रहँदा पत्रकारिता पेसामा सक्रिय थिए । जापानमा उनले याप्पारी स्टेक हाउसमा ७ वर्ष काम गरे । जापानमा गाईको मासुको परिकार बनाउथे । नेपालमा भने मटन, चिकन र पोर्कका मासु खुवाउने उद्धेश्यले उनले भरतपुरमा आउटलेट सञ्चालन गरेका हुन् ।
सस सँग खाने र हल्का मसला मोलेको गरी दुई किसिमले मासुका परिकार तयार गरिने उनले बताए । ढुंगालाई २५० डिग्रिमा तताएर चार देखि पाँच मिनेटमा मासु पकाइने उनी बताउँछन् । मासु पकाउने ढुंगा उनले जापानबाटै ल्याएका हुन् । ग्यासमा पनि मासु पकाइन्छ । ग्यासलाई टेबल अगाडि नै राखेर मासु पोलेर खान पनि सकिने उनले जानकारी दिए ।

भरतपुरमा सञ्चालनमा आएको याप्पारी स्टेक ३२ जनाले एकै पटक खान मिल्ने क्षमताको रेष्टुरेन्ट हो । याप्पारीको फ्रेन्चाइज लिनको लागि मात्रै एक करोड रुपैयाँ खर्चिएको उनी बताउँछन् । होटल निर्माण गरी सञ्चालन गर्दा अर्को एक करोड रुपैयाँ खर्च भएको उनले बताए । जापानकै रेसिपी अनुसार नेपालमै सस बनाइएने उनले जानकारी दिए ।
‘ससको फ्लेवर जापानमा जे छ, यहाँ पनि त्यहि हुने हो । हामीले यहाँ थप एउटा स्पाइसी सस पनि बनाएका छौँ’, उनले भने । असार २९ गते हुने उद्घाटन कार्यक्रममा जापानबाट याप्पारी स्टेकका मालिक आउने उनले बताए । जापानमा यसका १२० वटा आउटलेट छन् । अष्ट्रेलियामा पनि आगामी अगस्टमा यसको आउटलेट खुल्दै छ । चीनमा पनि आउटलेट राख्ने तयारी भइरहेको छ ।
जापान बाहिर पहिलो पटक नेपालको चितवनमा आउटलेट सञ्चालनमा आएको हो । जापानमा सन् २०१५ मा पहिलो पटक सञ्चालनमा आएको थियो । ग्राहकको माग बमोजिम कुखुरा, खसी र बंगुरका विभिन्न भागका मासुका परिकार उपलब्ध गराइने उनको भनाइ छ । यहाँ खानाको न्युनतम मूल्य एक हजार रुपैयाँ रहेको छ ।
‘हजार रुपैयाँमा २०० देखि २५० ग्रामसम्म आउने मासु छन् । सलाद बारमा चाँहि आफैले झिकेर खान सकिन्छ । सेल्फ सर्भिस हो, अघाउन्जेल थपि थपि खान पाइन्छ’, उनले भने, ‘सलाद बारमा चना, केराउ, मुला, काँक्रो र कहिलेकाँही फलफुल पनि हुन्छ । फ्रेन्च फ्राई र स्पेशल सुप पनि त्यसमै पाइन्छ ।’


























