कालिका

पुस्तक समीक्षाः चितवनको राजनीतिक इतिहास बुझ्न उपयोगी कृति

Banner
श्याम रिमाल,
भरतपुर,असार १९-
नेपालको संविधान लागु हुनुपूर्व ७६ औँ जिल्ला भनेर परिचित चितवनको आफ्नै परिचय छ । मुलुकको अर्थतन्त्रमा यसले धान, तेल आदि उत्पादन गरेर योगदान दिएको छ । पछिल्लो समय स्वास्थ्यका क्षेत्रमा पनि यसले नाम कमाएको छ । त्यसभन्दा बढी यसले राजनीतिक आन्दोलनमा दिएको योगदान स्मरणयोग्य छ ।
पुराना राजनीतिकर्मीमा मैयाँदेवी श्रेष्ठ, विश्वबन्धु थापा, भीमबहादुर श्रेष्ठ, नरबहादुर खाँड, अमिक शेरचन,  डिके शाही, सूर्यभक्त अधिकारी, जागृतप्रसाद भेटवाल, गुणराज पाठक आदिको नाम अग्रणी स्थानमा आउँछ । पछिल्लो समय नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा, रवि लामिछाने आदिले पनि यसैलाई संसदीय निर्वाचन क्षेत्र रोज्नुभयो ।
भौगोलिक रूपमा पूर्वी र पश्चिमी चितवनमा बाँडिएको यस जिल्लामा दुवै क्षेत्रका राजनीतिकर्मी चिरपरिचित छन् । वाल्मीकि साहित्य सदन रत्ननगर, चितवनले ‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ शीर्षक अनुसन्धानमूलक कृति प्रकाशन गरेर त्यस क्षेत्रका राजनीतिक–सामाजिक व्यक्तित्वलाई उजिल्याउने काम गरेको छ । राष्ट्रिय समाचार समितिका आलेख समाचार सेवा प्रमुख कृष्ण अधिकारीको लेखन र रामबाबु घिमिरेको सम्पादनमा प्रकाशित कृतिमा पूर्वी चितवनका ‘राजनीतिक परिवर्तन र विकासका सारथि’ सत्र जना तथा  विशेष प्रस्तुतिका साथ मैयाँदेवीका जीवनीलाई चित्रण गरिएको छ । हाल दिवङ्गत ती व्यक्तित्वमध्ये ज्यादाजसो कोही मन्त्री, सांसद, जिविस सभापति, प्रधानपञ्च, पार्टीका पदाधिकारी आदि नै हुनुहुन्थ्यो । समग्र चितवन जिल्लाले दिएको योगदान खण्ड १ तथा राजनीतिक– सामाजिक व्यक्तित्वको जीवनी खण्ड  २  मा उतारिएको छ ।
थारूहरूका राजा चित्रसेनको वन चित्रवन, चित्रसारी, चितुवा पाइने वन, सीतावन भनिँदै पछि ‘चितवन’ नामकरण भएको तीनथरी भनाइ पाइन्छ जहाँ मोहनशम्शेरका पालामा विसं २००६ मा नै राजधानीका जनतालाई पुग्ने धान फलाउन बृहत् बस्ती बसाल्ने योजना बनेको थियो । सात सालको आन्दोलनमा नेपाली कांग्रेसले उपरगढीदाङमा रहेको राणा प्रशासनलाई पराजित गरी जनसरकारसमेत निर्माण गरेको कृतिमा उल्लेख छ । पछि  गण्डक क्षेत्रमा आएको बाढीपहिराबाट विस्थापित जनतालाई यहीँ पुनर्वास गराइएको थियो  जुन काम अमेरिकाको सहयोगमा आएको राप्ती दून विकास परियोजना ९२०१३०  अन्तर्गत गरिएको थियो ।  नेपालको   पहिलो सहकारी बखानपुर सहकारी ऋण समिति पनि यही जिल्लामा २०१२ मा स्थापना भई २०१३ मा  दर्ता गरिएको थियो । सामाजिक रूपान्तरणसहित राजनीतिक परिवर्तनका लागि विसं २००७, ०१४, २०१७–१८, ०३६, ०४६, ०६२–६३ का आन्दोलनलाई निर्णायक विन्दुमा पु¥याउन चितवनको योगदानको कृतिमा वर्णन गरिएको छ ।
सो राजनीतिक–सामाजिक आन्दोलनमा लाग्ने विभिन्न व्यक्तित्व जस्तै इन्द्रबहादुर थापा, उदयनाथ अधिकारी, एकदेव घिमिरे, एकनाथ रानाभाट, किशोरचन्द्र ढुङ्गाना, केशवप्रसाद न्यौपाने, चूडामणि चौधरी, छन्दप्रसाद अधिकारी, ठाकुरप्रसाद तिवारी, तुलसीनारायण श्रेष्ठ, बन्धुराज न्यौपाने, बलबहादुर श्रेष्ठ, भैरवराज श्रेष्ठ, रामचन्द्र अधिकारी, सन्तकुमार चौधरी, सुरेशनाथ रेग्मीलगायत प्रायःले कारागार भोगेकै थिए  ।  उनीहरू सबै निःस्वार्थ, इमान्दार र देशभक्त रहेको तथा राजनीतिमा  लागेर केही पाउँला भन्ने स्वभावका  नभएको नै  देखिन्छन् ।  तिनमध्ये धेरैजसो बाहिरी जिल्लामा रहँदा नै क्रान्तिकारी र समाजसेवी रहेको र बसाइँ सरेर चितवनमा आएपछि पनि बाटोघाटो, पुलपुलेसा, विद्यालय, अस्पताल आदि निर्माण र स्थापना गर्ने काममा लागेकै देखिन्छन् । केहीले भने आदिवासी थारु, चेपाङका पक्षमा काम गरे ।
कृतिमा राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामा भनिएको छ, “राजनीतिक चेतनाको दियो बाल्न अघि सर्ने तिनै अग्रजहरूको योगदानले नै आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास सम्भव भएको हो । इतिहास जीवन्त राख्न गरिने यस्ता प्रयासहरू प्रशंसनीय छन् । यसबाट राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणसँगै  विकासको अभियान अगाडि बढाउने प्रयास नयाँ पुस्तालाई हस्तान्तरण गर्न मद्दत पुग्ने छ ।” त्यस्तै सम्पादक तथा प्रकाशक सदनका अध्यक्ष  घिमिरेले व्यक्ति वा समाज परम्पराको निरन्तरता भएकाले तिनको जानकारी सुलभ बनाउने प्रयासका रूपमा प्रस्तुत कृति ल्याइएको बताउनुभएको छ भने पुस्तक प्रकाशनमा जोडिनुभएका तीर्थराज न्यौपाने, तिलकराज पौडेल र मन थापाले  उहाँहरुको  दूरदर्शी सोचले नै आज चितवनले मात्र नभएर मुलुकले नै धेरै उपलब्धि पाउन सकेको  विचार राख्नुभएको छ ।
जीवनी लेख्नु त्यसमाथि दिवङ्गतको इतिहास खोतल्नु कठिन काम हो । रासस सञ्चालक समितिका सदस्य तथा कृतिका लेखक अधिकारीका अनुसार जीवनीमा समेटिएका व्यक्तित्वका समकालीन र नजिकका मित्र, दीक्षित वा शिष्य,  परिवारका सदस्यका स्मरण र अनुभूतिका आधारमा कृति तयार गरिएको हो । यस्ता काम व्यक्ति जीवितै छँदा लेख्न सुरु गर्न सकेको भए अझ थप सूचनाहरू आउन सक्थे ।
जसका कामले समाजमा सकारात्मक परिवर्तन आएको छ, तिनका बारेमा पछिल्ला पुस्ताले पनि जानकारी राख्नु बेस हुने सोच राखी प्रकाशन गरिएको कृतिमा अन्य केही अग्रजको जीवनी पनि छुटेका छन् । प्रस्तुत कृतिमा छुटेका व्यक्तित्वहरू समेटी भाग दुई पनि प्रकाशन गरिने जनाइएको छ । कतिपय व्यक्तित्वले सँगसँगै काम गरेकाले केही कुरा दोहोरिएको जस्तो पनि पाठकलाई लाग्न सक्छ ।  वर्णविन्यास र भाषाशैलीमा सुधारको गुञ्जायस अझै छ । राजनीतिमा चासो राख्नेहरूलाई कृतिको उपयोगिताबारे धेरै भन्नु पर्दैन होला ।  एक सय तिस पेजको पुस्तकको मूल्य संस्थागत ५०१ र व्यक्तिगत २०१ ठीकै मान्नुपर्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>