Breaking News

चितवनको क्यान्सर अस्पतालमा राजनीतिक दाउपेचः भागबण्डा नमिल्दा तीन महिनादेखि सेवा प्रभावित

Banner

चितवन,असार १९-

असार मसान्तको भुक्तानी दिने म्याद सकिन सात दिन मात्र बाँकी छ । अधिकांश कार्यालयलाई भुक्तानी दिन भ्याइनभ्याइ छ । यता भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भने साढे दुई महिनादेखि भुक्तानीका सम्पूर्ण सेवा प्रभावित छन् । क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक नहुँदा वैशाखदेखि भुक्तानीलगायत दैनिक कामकाजमा प्रभावित भएको हो ।

‘अस्पताल जस्तो संवेदशील ठाउँमा एक सेकेन्ड पनि सेवा प्रभावित हुनुहुँदैन तर कार्यकारी नहुँदा सेवा प्रभावित भइरहेका छन् । अस्पतालका प्रशासकीय अधिकृत गृहनारायण महतोले भने, ‘४० करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । कार्यकारी निर्देशक नहुँदा भुक्तानी दिन पाइएको छैन ।’ अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामग्री खरिद प्रभावित बनेको उनले बताए । कटन, ब्यान्डेजलगायत सर्जिकल सामान, एक्सरे फ्रेम, प्लम्बिङ, इलेक्ट्रिकल तथा स्टेसनरी सामग्री सकिन लागेको उनले जानकारी दिए ।

‘वैशाखदेखि कर्मचारीलाई तबल खुवाउन सकिएको छैन । स्टेसनरी सामान सकिँदैछ । बिरामीले छुटमा पाउने केमोलगायत औषधि फार्मेसीमा सकिएको छ । टेन्डर निकाल्न पाएका छैनौं । अक्सिजन सकिएपछि दुई बुलेट सापटी लिएर चलाएका छौं,’ उनले भने, ‘सम्पूर्ण टेन्डर प्रक्रिया, कर्मचारी नियुक्तिलगायत काम ठप्प छ ।’ बिल भुक्तानी हुन नसक्दा अत्यावश्यक सामग्री खरिद गर्न नसकिएको उनले बताए । अस्पतालको नेतृत्व नै नहुँदा काम गर्न कठिन भएको उनले बताए । ‘कर्मचारीले पैसा पाएका छैनन् । त्यसो हुँदा उनीहरू नियन्त्रणबाहिर जान्छन्,’ उनले भने, ‘यस्तो तालमा अस्पताल कसरी चल्छ  ?’ अस्पतालले आगामी वर्षको कार्ययोजना असार मसान्तभित्र पास गर्नुपर्ने हो । राजनीतिक खिचातानीका कारण अस्पताल सञ्चालक समितिले अझै पूर्णता पाउन सकेको छैन ।

डा. देजकुमार गौतमको कार्यकाल गत वैशाख २४ गते सकिएपछि कार्यकारी निर्देशक पद रिक्त छ । अस्पताल कार्यसञ्चालन तथा व्यवस्थापन नियमावली २०६६ अनुसार कार्यकारी निर्देशकको काम अध्यक्षको निर्देशनमा अस्पतालको दैनिक प्रशासन सञ्चालन गर्ने रहेको छ । अस्पतालमा अध्यक्ष रहे पनि कार्यकारी जिम्मेवारी नहुनाले दैनिकी सहज बनाउन कठिन हुने गरेको छ । अहिले अस्पतालको अध्यक्षमा डा। विजयराज न्यौपाने छन् । उनलाई मन्त्रिपरिषद् बैठकले चैत २० गते नियुक्ति गरेको थियो । सञ्चालक समितिले पूर्णता नपाउँदा बैठकसमेत बस्न नसकिएको न्यौपानेले बताए । ‘आवश्यक संख्या नपुगेर बैठकसमेत बस्न सकिएको छैन,’ उनले भने, ‘खाता सञ्चालन अभावले दैनिक काम गर्न नै समस्या छ ।’ रिक्त रहेको नर्सिङ र चिकित्सकको विज्ञापनसमेत खोलाउन नपाएको उनले बताए ।

कुनै समय दक्षिण एसियाकै उत्कृष्ट मानिएको क्यान्सर अस्पताल, जहाँ अहिले सेवाग्राहीले समेत सहज सेवा नपाएको गुनासो गर्र्दै आएका छन् । ‘छोराको उपचारका लागि पाँच दिन अस्पताल बसियो । फार्मेसीमा औषधि किन्न गएको पाइएन,’ लमजुङ दुधपोखरी गाउँपालिका–२ का मधुसूदन दवाडीले भने, ‘कर्मचारीले नै यहाँ उपचार राम्रो छैन भन्दै बाहिर लैजान सिफारिस गरे ।’ प्रयोगशालाको विश्वसनीयतासमेत नभएको उनले बताए ।

सञ्चालक समिति गठन हुन सकेन

अहिले प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन् । स्वास्थ्यमन्त्री नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत छन् । यी दुवै सञ्चालक समितिमा बहुमत पुर्याएर कार्यकारी निर्देशक आफ्नो बनाउने कोसिसमा छन् । अध्यक्ष पदमा नियुक्त भएका न्यौपाने माओवादीनिकट हुन् । आफ्नो स्वार्थका लागि सरकारले अहिलेसम्म सञ्चालक समिति नियुक्ति नगरेर सेवा प्रभावित बनाएको छ । डा। निर्मल लामिछानेको अध्यक्ष पद फागुन १३ देखि सकिएको हो । १४ सदस्यीय सञ्चालक समितिमा ६ जना स्वास्थ्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने व्यवस्था छ । सो पद अहिले रिक्त छ । सरकारले नियुक्त गर्ने ६ जना र समितिले नियुक्त गर्ने दुई सदस्य पद रिक्त छन् ।

६ जनामध्ये दुई जना सामाजिक क्षेत्रका व्यक्ति हुन्छन् भने चारजना क्यान्सरविशेषज्ञ हुनुपर्दछ । चारजना पदेन सदस्य हुन्छन् । भरतपुर महानगरपालिका प्रमुख, स्वास्थ्य सचिव, अर्थ सचिव, स्वास्थ्य अनुसन्धान परिषद्का एक जना पदेन सदस्य हुने व्यवस्था छ ।

सञ्चालक समितिले सिफारिस समिति गठन गरी उक्त समितिले सिफारिस गरेका व्यक्तिमध्येबाट स्वास्थ्य मन्त्रीले कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ ।समितिले नै पूर्णता पाउन नसकेपछि कार्यकारी निर्देशक पदसमेत रिक्त रहेको हो ।अस्पतालका अधिकांश प्रशासनिक कार्य गर्न कार्यकारी निर्देशक आवश्यक पर्दछ ।

नियमावलीअनुसार कार्यकारी निर्देशकले समितिबाट स्वीकृत नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्ने–गराउने, अध्यक्षको समन्वयमा अस्पतालको वार्षिक योजनासहितको आयव्यय अनुमान समितिमा पेस गर्ने, अध्यक्षको अनुमति लिई समितिको बैठक बोलाउने, समितिको बैठकसमक्ष पेस गर्ने प्रस्ताव तथा छलफलका विषयसूची र कार्यविधि तयार गर्ने, अस्पतालको प्रशासकीय प्रमुख भई काम गर्ने रहेका छन् । क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा तीनजना आकांक्षी छन् । उनीहरू नेतृत्वलाई रिझाउन काठमाडौं धाइरहेका छन् ।

निवर्तमान उपनिर्देशक डा। कृष्णसागर शर्मा, पूर्वकार्यकारी निर्देशक विजयचन्द्र आचार्य र शिवजी पौडेलले लविङ गरेका छन् । आचार्य र पौडेल कांग्रेस निकट हुन् भने शर्मा माओवादी निकट हुन् । सरकारले आजभोलि नै सञ्चालक समिति गठन गरे पनि असार मसान्तभित्र कार्यकारी निर्देशक नियुक्त गर्न कठिन हुने देखिन्छ । कोष तथा लेखा नियन्त्रकबाट ४ करोड निकाशा हुन बाँकी छ । असार २५ गतेभित्र भुक्तानी लिन नगए फ्रिज हुने अध्यक्ष न्यौपानेले जानकारी दिए । ‘कोलानिकाबाट हामीले पुँजीगत खर्चको रकम लिन ४ करोड बाँकी छ । त्यो लिन हामीलाई समस्या पर्दै छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>