Breaking News

जनता ठग्ने शिवशिखर सहकारीका अध्यक्ष शर्माका ४३ कम्पनी, ८ अर्ब विदेश लगेको खुलासा

Banner

काठमाडौं , असार १२-

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी सहकारी संस्थाको १२ अर्ब २३ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका केदारनाथ शर्माको ४३ वटा कम्पनीमा लगानी रहेको पाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले शर्मालाई पक्राउ गरेपछि उनले शिवशिखर अर्गनाइजेनबाट ४३ वटा कम्पनीमा लगानी गरेको तथ्य मंगलवार सार्वजनिक भएको हो । भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रहेका उनले निक्षेपकर्ताको रकम अपचलन गरेर ८ अर्ब रुपैयाँ नेपालबाहिर लगेको पाइएको छ ।

उनले भारतमा मात्रै ६ अर्ब लगेको अनुसन्धानका क्रममा भेटिएको सीआईबीले जानकारी दिएको छ । त्यहाँ उनको शिवशिखर अर्गनाइजेसन भारत भन्ने संस्था रहेको छ । भक्तपुरमा शिवशिखर र मोरङमा तुलसी सहकारी खोलेका शर्माले दुवै सहकारीको पैसा अपचलन गरेका छन् । उनले शिवशिखरको १० अर्ब ७७ करोड र तुलसी सहकारीको १ अर्ब २४ करोड रुपैयाँ निक्षेपलाई अपचलन गरेको पाइएको छ ।

बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र अन्य सञ्चालकविरुद्ध सहकारी विभाग र सीआईबीमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा केही व्यक्ति यसअघि नै पक्राउ परे पनि उनी फरार थिए । एक सूचना जारी गरी सीआईबीले भक्तपुरमा कार्यालय भई काठमाडौं, ललितपुरका विभिन्न क्षेत्रको सेवा केन्द्रमा बचत गरी रकम फिर्ता नपाएका बचतकर्ताहरूलाई सम्पर्कमा आउन अनुरोध समेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>