चितवन विशेष

यही गतिमा भरतपुर महानगरपालिकाको विकास भएमा साच्चिकै स्मार्ट सिटी बन्छ: उपमेयर अधिकारी

Banner

चितवन, जेठ ७-

भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले यही गतिमा भरतपुरको विकास भएमा साच्चिैकै स्मार्ट सिटी बन्ने दाबी गरेका छन् ।

अपांग समाज चितवनले आइतबार भरतपुरमा गरेको भित्ते पात्रो विमोचन तथा आर्थिक वर्ष २०८०\८१ को बजेट तर्जुमा कार्यक्रममा बोल्दै अधिकारीले यस्तो दाबी गरेका हुन् ।

उपमेयर अधिकारीले विकासका काममा कसैले औला ठड्याउने हिम्मत आज सम्म नगरेको भन्दै महानगर तीब्र विकासको गतिमा अगाडि बढेको बताए । यही गतिमा महानगरमा विकासको क्रम बढ्दै गयो भने भरतपुर महानगरपालिका साच्चिकै स्मार्ट सिटी बन्नेमा पुर्ण विश्वास रहेको उनले दाबी गरेका हुन् ।

उनले जनताका काम गर्ने सवालमा भरतपुर महानगरपालिकाले कुनै पनि कन्जुस्याइँ नगर्ने प्रष्ट पारेका छन् । बिगतका पाँच वर्षमा पनि महानगरले जनताका सामु राखेका विकास निर्माणका आयोजनाहरुको काममा यो या त्यो नभनी बिना शर्त काम गरेको तस्वीर छर्लङ्ग रहेको पनि उनले प्रष्ट पारे । ‘अबको हाम्रो बाँकी समय पनि भरतपुर महानगरको विकासमै खर्चिने गरी महानगरले एक खालको कार्यतालिका बनाइसकेको छ’ उपमेयरले भने । देशभरी कै हेर्न लायकको विकास अब भरतपुरमा हुन्छ ।

भरतपुर महानगरपालिका नगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका अपाङ्गता भएका व्यक्तिहरुको सेतो छडीको रुपमा रहेको दाबी गरेका छन् । ‘स्थानीय सरकार तपाइँहरुको घर आगनको आफ्नै सरकार हो, हामी तपाइँहरुको दुःखसुखको साहारा मात्रै नभइ टेक्ने सेतो छडी पनि हौं’ उपमेयर अधिकारीले कार्यक्रममा भने । अधिकारीले महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई सपाङ्ग नागरिक सरहको सेवा तथा सुविधा प्रदान गरिरहेको पनि उल्लेख गरे ।

कार्यक्रममा अपाङ्ग समाज चितवनका अध्यक्ष होमनाथ अधिकारीले जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको संख्या एकिन नभएको बताए । जिल्लामा हामी तथ्यांक संकलन गर्ने क्रममै छौ अध्यक्ष अधिकारीले भने, ‘अहिले नै भनी हाल्ने अवस्था भने छैन ।’

राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको संख्या छ लाख ४७ हजार ७४४ रहेको छ भने अपाङ्गता भएका पुरुषहरुको सख्या तीन लाख ५१ हजार ३०१ रहेको छ । जनगणना अनुसार अपाङ्गता भएका महिलाहरुको सख्या भने दुई लाख ९३ हजार ४४३ रहेको देखिन्छ । प्रतिशतको आधारमा जनगणनानुसार अपाङ्गता भएको पुरुषको सख्या ५४ दशमलब दुई प्रतिशत र महिलाको सख्या ४५ दशमलब ८ प्रतिशत रहेको देखिएको छ । त्यस्तै अपाङ्गता भएका व्यक्तिमध्ये सबैभन्दा धेरै ३७ दशमलब एक प्रतिशतमा शारीरिक अपांगता भएको पाइन्छ । जनगणना अनुसार १७ दशमलब एक प्रतिशतमा न्यूनदृष्टि अपाङ्गता ,८ दशमलब ९ प्रतिशतमा बहुअपाङ्गता, ८ प्रतिशतमा सुस्त श्रवण अपाङ्गता र ६ दशमलब ४ प्रतिशतमा स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएको देखिन आउँछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>