चितवन विशेष

अष्ट्रेलियामा सवारी दुर्घटनामा परी चितवनका प्रमोद आचार्यको निधन

Banner

चितवन, जेठ ६–

चितवनको भरतपुर महानगरपालिका–११ का प्रमोद आचार्यको अष्ट्रेलियामा सवारी दुर्घटनामा परी मृत्यु भएको छ । आचार्य चढेको कार चार दिनअघि एउटा ट्रकसँग ठोक्किन पुग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

परिवारले आचार्यको शवलाई नेपाल ल्याउने प्रयास गरिरहेको छ । अष्ट्रेलियास्थित नेपाली र उनका आफन्तहरुले कानुनी प्रक्रिया पुरा गरेर शवलाई पठाउने कोशिस गरिरहेका छन् ।

अष्ट्रेलियाको मेलबर्नबाट ६० किलोमिटर टाढा कोल्याकमा बसोबास गर्दै आएका ३० वर्षीय आचार्यको सडक दुर्घटनामा निधन भएको हो । ल्याब टेक्नीसियनका रुपमा कृषि फर्ममा काम गर्ने उनी चढेको कार प्रिन्सेस हाईवेको कोला पम्बरनेट रोडमा दुर्घटनामा परेको थियो ।

बुधबार साँझ करिब साढे ६ बजे भएको दुर्घटनामा प्रमोदको कार र ट्रक ठोक्किएका थिए । प्रहरीका अनुसार दुर्घटनामा परेको अर्को ट्रकका चालक सकुशल रहेको भएपनि प्रमोदको भने घटनास्थलमै ज्यान गएको छ ।

सिड्नीमा बस्दै आएका प्रमोद केही समय अघि स्थायी बसोबासका लागि कामको चाँजो मिलाएर रिजनल भिक्टोरियाको कोल्याक सरेका थिए । स्थानीय क्याम्परटाउनमा रहेको एसटी जेनेटिक्समा काम गर्ने उनले कोल्याकमा अवस्थित अष्ट्रल होटलमा समेत पार्ट टाईम काम गर्दथे ।

होटलमा सँगै कार्यरत रहेका साथी सन्जीव बुढाथोकीका अनुसार प्रमोद एकदमै मेहनती र मिलनसार थिए । संगीतमा समेत रुचि राख्ने उनी आफ्नो कामबाहेक दायाँबायाँ केही नगर्ने व्यक्ति भएको बुढाथोकीले बताए ।

आचार्यको परिवार अहिले शोकमा डुबेको उनका ठूलाबुबा दिननाथ आचार्यले बताए । उनी एक वर्षअघि बिहे गरेर अष्ट्रेलिया गएका थिए । बिहे गरेको करिब छ महिनापछि उनकी श्रीमति पनि अष्ट्रेलिया पुगेकी थिइन् । घरमा मृतक आचार्यका बुबा, आमा र दाजु भाउजु छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>