कृषि

भरतपुर–१६ का पाँच हजार पशुलाई लगाइयो पीपीआर र खोरेत खोप

Banner

निरुता विक

चितवन, वैशाख २४-

गर्मीयाम सुरु भएसँगै चितवनका पशुलाई खोप लगाउन सुरु गरिएको छ ।

भरतपुर महानगरपालिका–१६ ले गर्मी समयमा पशुमा विभिन्न रोग देखिने भन्दै खोप लगाउन सुरु गरेको हो ।

चैत महिनाबाट खोप लगाउने अभियान सुरु गरिएको वडा अध्यक्ष अमृतराज हमालले नारायणी अनलाइनलाई जानकारी दिए । उनले चैत महिनादेखि पीपीआर र वैशाख १० गतेदेखि खोरेत खोप लगाउन सुरु गरिएको बताए । पीपीआर रोगबाट बाख्रालाई बचाउनका लागि वडामा खोप अभियान सञ्चालन गरिएको अध्यक्ष हमालले बताए । क्षति नहोस् भनेर वडामा पीपीआर र खोरेत खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
उनले भने, ‘वडामा भण्डै ८०० पशुपालक कृषक रहेका छन्, आजसम्ममा पाँच हजार पशुलाई खोरेत र पीपीआर खोप लगाएका छौं ।’ उनले गाईभैँसीमा खोरेत र बाख्रामा पीपीआर खोप लगाएको उनको भनाइ छ । उनले खोप लगाउन छुटेका पशुलाई वडामा सम्पर्क गरी खोप लगाउन कृषकलाई अनुरोध गरेका छन् । उनले टोल–टोलमा गएर खोप लगाउने गरिएको बताए । उनले दुवै खोप लगाउनका लागि तीन जना कर्मचारी खटाइएको बताए ।

के हो खोरेत रोग ?

खोरेत एक प्रकारको पशुहरूलाई लाग्ने सरुवा रोग हो । यो रोग लागेमा पशुहरूको खुर पाक्ने भएकोले यस रोगको नाम खोरेत रोग अथवा खुरको रोग पर्न गएको हो । यो रोग खास गरेर घरमा पालिने जनावर गाईभैंसी, बाख्रालगायतलाई लाग्छ । यो रोग लागेमा पशुहरूका खुर पाक्नुको साथै ज्वरो आउने, घाँस नखाने जस्ता लक्षणहरू पनि देखा पर्छन् । यखि खोरेत रोगबारे बेलैमा ध्यान पु¥याउन न सकेमा खोरेत रोग लागेको पशु मर्न पनि सक्छ । छोटो समयभित्र खोरेतको विषाणुले पशुलाई रोगी तुल्याउन सक्ने र विभिन्न जातका जनावरलाई एकैपल्ट आक्रमण गर्न सक्ने क्षमताका कारण महामारीको रुपमा फैलिन्छ  ।

के हो पीपीआर रोग ?

पीपीआर भेडाबाख्रामा लाग्ने घातक संक्रामक रोग हो । यसलाई भेडा बाख्राको हैजा पनि भनिन्छ । सुरुमा अफ्रिका महादेशमा सिमित रहेको यो रोग अहिले विश्वका धेरै देशमा फैलिइसकेको छ । यो रोग नेपालका सबै जिल्लामा देखा परिसकेको छ । यो रोग पुरानो ठाउँमा देखापर्दा मृत्युदर कम भए पनि नयाँ ठाउँमा फैलिदा ८० प्रतिशत मृत्यु दर हुने गरेको पाइन्छ । खास उपचार नभएकोले यसको नियन्त्रणका लागि सबै भन्दा प्रभावकारी पद्धति व्यापकरुपमा सामूहिक खोप लगाउने नै भएकोले खोप कार्यक्रमलाई प्रभावकारी तवरले सञ्चालन गरी पीपीआर रोग नियन्त्रयण गर्नुपर्छ । पीपीआर रोग लागेमा पखाला लाग्ने, ¥याल सिगान बगाउने, उच्च ज्वरो आउनेलगायत लक्षण देखापर्ने र अन्त्यमा बाख्रा मर्ने गर्दछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>