Breaking News

चितवनका व्यवसायी कँडेल मृत्यु प्रकरणः आरोपीविरुद्ध पक्राउ पुर्जी जारी

Banner

चितवन,बैशाख २०-

नेपालका परिचित पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जनालाई पक्राउ पुर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै पक्राउ पुर्जी जारी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जाहेरी दिइएका नामका व्यक्तिका लागि पक्राउ पुर्जी जारी गरिसकिएको छ । परिवारका तर्फबाट कँडेलले आत्महत्या गर्नुको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावलविरुद्ध किटानी जाहेरी परेको हो ।

पक्राउ पुर्जी जारी गरी देशभर प्रहरीका युनिटसँग समन्वय गरिएको कार्कीले बताउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घ चिवतनलगायत निजी क्षेत्रको ज्ञापनपत्र बुझ्दै उहाँले भन्नुभयो, “हामीले पक्राउ पुर्जी जारी गरिसकेका छौँ । अपराध महाशाखा, सिआइबीलगायतको टोलीलाई समेत खबर गरेर देशभरका प्रहरी युनिटसँग समन्वय गरेका छौँ ।” आरोपी भनिएका व्यक्तिलाई कानुनी दायरामा ल्याउने उहाँले बताउनुभयो । परिवारले आत्महत्या दुरुत्साहनमा उजुरी दर्ता गराएका थिए ।

ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारका विभिन्न निकायमा दर्ता गरी जस्तोसुकै विषयम परिस्थितिमा पनि संयमित भई राज्यलाई कर तिर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको निजी क्षेत्रलाई सरकारको तर्फबाट कुनै किसिमको सहयोग नहुनु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।

यसको परिणाम कँडेलले मृत्युको शिकार बन्नुपरेको भन्दै यस्ता घटना रोक्नका लागि समेत दोषीलाई पक्राउ गरी कारबाही गर्न उहाँले माग गर्नुभयो । दोषीलाई कारबाही नहुने हो भने अन्य कयौँ व्यवसायीले आत्महत्या गर्न बाध्य हुने भन्दै सङ्घले तत्काल पक्राउ गर्न दबाबस्वरुप आन्दोलनका कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ ।

निजी क्षेत्रको अगुवाइमा बिहीबारदेखि शान्तिपूर्ण आन्दोलनका कार्यक्रम गर्नेसमेत जनाइएको छ । आन्दोलनको कार्यक्रमअन्तर्गत बिहीबार जिल्ला प्रहरी कार्यालय चितवन अगाडि ११ः३० बजे धर्ना दिने बिहीबारसम्म पनि दोषी पक्राउ नभए थप आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो ।

मृतक शङ्कर कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर रुङ्टालाई बेचेका थिए । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको कार्कीले जानकारी दिनुभयो । कँडेल जिल्लाका लोकप्रिय पात्र थिए । ५२ वर्षीय कँडेल भरतपुर महानगरपालिका–८ निवासी हुन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>