भिडियो

दयाहाङ र मिरुना स्टारर फिल्म ‘जारी’ले दुई सातामा कमायो १३ करोड

Banner

काठमाडौं, वैशाख १५-

दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा दुई सातामा १३ करोड रुपैयाँ कमाइ गरेको छ । निर्माता रामबाबु गुरुङका अनुसार वैशाख १ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले दोस्रो बिहीबारसम्म १३ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको हो ।

यस वर्ष दुई अंकको कमाइ गर्ने ‘जारी’ पहिलो फिल्म समेत बनेको छ । निर्माण कम्पनीका अनुसार फिल्मको कुल कमाइमा काठमाडौं उपत्यकाभन्दा मोफसलको हिस्सा केही बढी देखिएको छ । रिलिजदेखि नै फिल्मले पूर्वी नेपालका सहरमा आक्रामक कमाइ गरिरहेको थियो । पूर्वी सहरमा अहिले पनि अकुपेन्सी राम्रै देखिएको छ ।

 

शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको यो फिल्मको अकुपेन्सी नयाँ रिलिज भन्दा पनि उच्च देखिएको छ । शो पनि नयाँ रिलिजभन्दा उच्च नै छ । नेपालसहित अन्तर्राष्ट्रिय बजारमा समेत आक्रामक कमाइ गरेको उपेन्द्र सुब्बा निर्देशित जारीले मल्टिप्लेक्स र सिंगल स्क्रिनमा समेत राम्रै कमाइ गर्‍यो ।

नेपालसहित अमेरिका, अष्ट्रेलिया र युरोपमा रिलिज भएको यो फिल्म पछिल्लो साता बेलायत र मध्यपूर्वमा समेत रिलिज भएको छ । निर्देशक सुब्बासहित दयाहाङ राई र मिरुना मगर यतिबेला बेलायतमा फिल्मको प्रचारप्रसारमा छन् ।

पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायको जारी प्रथा, विवाह संस्कृतिक र दाम्पत्य जीवनको कथा प्रस्तुत गर्ने यो फिल्मले बक्स अफिस र समीक्षात्मक दुवै कोणबाट सकारात्मक प्रशंसा प्राप्त गरेको छ । जारीपछि निर्माण कम्पनी बाँसुरी फिल्म्स दयाहाङकै अर्को फिल्म ‘डिग्री माइला’को निर्माण तयारीमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>