मनोरञ्जन

नेपालमा भारतीय फिल्मको छायांकन बढ्दै

Banner

काठमाडौं, वैशाख १३

केही समयदेखि नेपालमा भारतीय फिल्म तथा टेलीरवेब शृंखलाको छायांकन हुने क्रम बढिरहेको छ। अंग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायांकनस्थल बनाए पनि भारतीय फिल्मको संख्या बढेको भने धेरै भएको छैन।

२०७८ सालमा फिल्म ‘उचाइ’ ले नेपालमा एक महिना छायांकन गरेको थियो। भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो। त्यसपछि नेपालमा भारतीय फिल्मसँगै शृंखलाहरूसमेत आउन थालेका छन्।

गत साता मात्र काठमाडौंमा भारतीय फिल्म ‘मिराई’ को छायांकन भयो। त्यही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत दस दिन एक शृंखलाको छायांकन काठमाडौंदेखि पोखरासम्म गरे।

अभिनेता अर्जुन कपुर अभिनित ‘इन्डियाज मोस्ट वान्टेड’ को छायांकन पनि पोखरामा भएको थियो। यी प्रतिनिधि नाम मात्र हुन्। ससाना शृंखला, सांगफतिक भिडिओ उत्तिकै छायांकन भइरहेका हुन्छन्।

नेपालमा विदेशी फिल्मको आकर्षण बढिरहेको प्रोडक्सन डिजाइनर अरूण रेग्मीले जानकारी दिए।

उनीसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको शृंखलासँगै ‘फर्जी’ र ‘उचाइ’ लाई नेपाल व्यवस्थापनको काम गरिसकेको छ। फिल्म छायांकनमा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सन डिजाइनरले मिलाउने गर्छन्।

‘विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकलेसमेत सिक्न पाए। उहाँहरूको काम गर्ने शैली परिपक्व छ। ठूलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ,’ प्रोडक्सन डिजाइनर रेग्मीले भने।

विशेषतः विदेशबाट नेपालमा छायांकन टोली आउँदा एक सयभन्दा बढी प्राविधिक आउने गरेका छन्। उनीहरूले स्थानीयसँग सहकार्य गरेर काम गर्ने गरेका छन्।

‘मिराई’ को नेपाल व्यस्थापन हेरेका प्रोडक्सन डिजाइनर मनोज जोशीले काम गर्न सहज भएको बताए।

‘उहाँहरूसँग काम गर्दा आफ्नो जिम्मेवारी लिएपछि ढुक्क हुन्छ। नेपाललाई मन पराएको भन्ने नै सुन्छु। नेपालीको स्वागत सत्कारले उहाँहरूलाई लोभ्याएको पाएको छु,’ जोशीले भने।

समूहमा काम गर्दा बलिउडका ठूला कलाकारले पनि सरलता प्रस्तुत गर्ने प्रोडक्सन डिजाइनर रेग्मीले बताए।

‘दिग्गज कलाकारको कामप्रतिको सरलता र मानवीय स्वभावले हामीलाई काम गर्न ऊर्जा प्रदान गर्थ्यो। कामप्रतिको लगाव तारिफ योग्य छ। हामीलाई सहज होस् भनेर कहिल्यै ठूलो कलाकारको व्यवहार गर्नुभएन,’ उनले भने।

नेपाल सरकारले विदेशबाट छायांकनमा आउने फिल्मलाई सेवासुविधा प्रदान गरे संख्या वृद्धि हुने अर्का प्रोडक्सन डिजाइनर शंकर पाण्डेले बताए।

‘विशेषत छायांकनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए संख्या बढ्नेछ। अहिले नेपाल हाम्रोभन्दा पनि उनीहरुकै कारणले आइरहेका छन्,’ प्रोडक्सन डिजाइनर पाण्डेले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>