Breaking News

धरानका वडाअध्यक्षले मागे मेयर हर्क सम्पाङ्गको राजीनामा

Banner

विराटनगर,वैशाख ८-

धरान उपमहानगरका मेयर हर्क सम्पाङ्ग र वडाअध्यक्षहरूबीच लामो समयदेखि विवाद चलेको छ । विवाद बढ्दै गएपछि बिहीबार मेयर साम्पाङ्गले वडाध्यक्षहरूको राजीनामा मागेका थिए । मेयरले विज्ञप्ति निकालेर वडाअध्यक्षहरूलाई असक्षम घोषणा गर्दै राजीनामा मागेपछि वडाअध्यक्षहरूले पनि मेयरको एक वर्षे कार्यकाल पूर्णरूपमा असफल भएको टिप्पणी गरेका छन् ।

राजीनामा दिन चेतावनीसहितको विज्ञप्तिपछि वडाअध्यक्षहरूले पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ्गलाई राजीनामा गरेर पुन: चुनाव लड्न चुनौती दिएका छन् ।

एक वर्षसम्म मेयरको पेलान सहेको भन्दै अब नबस्ने उनीहरूको प्रतिक्रिया छ । वडाध्यक्षहरूले आफूहरूले विधि र प्रक्रियाको कुरा गरेको तर मेयरले प्रक्रियाभन्दा बाहिर गएर धाकधम्की दिएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा धरान-६ बाट स्वतन्त्र रूपमा निर्वाचित वडाध्यक्ष भूपेन्द्र भट्टराईले साम्पाङलाई नगर प्रमुख पदबाट राजीनामा दिएर आफ्नो वडामा अध्यक्ष जितेर देखाउन चुनौती दिए ।

उनले मेयर साम्पाङले आफूलाई खोला बेचुवा भनेर चिनाउन खोजेको आरोप लगाउँदै भने, ‘आफनै स्रोत साधन प्रयोग गरौँ खोलाको उचित सदुपयोग गरौँ खोला ठेक्का होइन स्रोत परिचालन गरी बाटोघाटो र विकास कार्य गरौँ भन्दा खोला बेच्न खोजेको हुन्छ? के खोला मेयरको ठेक्का हो?’

भट्टराईले वडाको उन्नति र विकासका लागि आफू हरपल प्रयत्न गर्दै मेयरसँग झुकेको तर त्यसको गलत अर्थ लगाएको बताए । वडा नम्बर १८ का अध्यक्ष प्रवीण राईले कार्यपालिका बैठक सुचारु गर्न मेयर आफैँ नलागेको आरोप लगाए ।

‘सहजीकरणको लागि समीक्षा गरौं भनेका थियौं, तर उहाँ आफैँ मान्नु भएन’, उनले सुनाए । सामाजिक सञ्जालमा वडा अध्यक्षहरूलाई ‘गुइँठे’ भन्दै अपमान गर्ने र अस्तित्वमाथि नै धावा बोल्ने अधिकार मेयर साम्पाङलाई नभएको राईले बताए ।

उनले भने ‘क्रियाको प्रतिक्रिया हुन्छ, मेयर धकुले (धक्कुमात्र लाउने काम नगर्ने) उपनामले चिनिएका छन् ।’ मेयरका स्वकीय सन्दिर लिम्बूले वडाअध्यक्षहरूलाई निर्देशनात्मक पत्र पठाएपछि विवाद सुरू भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>