Breaking News
उपेन्द्र यादव मधेशको अधिकारका लागि लड्ने सच्चा नेता हुन्ः देउवा

बारा,बैशाख ७-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव मधेशको अधिकारका लागि लड्ने सच्चा नेता भएको भन्दै तारिफ गरेका छन्। बिहीबार बारामा भएको उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र उपेन्द्र यादव एउटै मन्त्रिमण्डलमा बसेर काम गरेको र यादवले सधै मधेशको अधिकारका लागि आफूसँग झगडा गरेको बताए।
‘मेरो क्याबिनेटमा हामी सँगै काम गरेका हौं। उहाँ मधेशको अधिकारकालागि क्याबिनेटमा पनि म सँग धेरै पटक झगडा गर्नुभयो मधेशका लागि लड्नुभयो,’ देउवाले भने, ‘उहाँ सच्चा मधेशका प्रति प्रतिवद्ध योग्य नेताको रुपमा पाएका छौं।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपेन्द्रलाई जिताए जनताको सेवा गर्ने अवसर दिन आग्रह गरे। उपेन्द्रको पाँच वर्षे कार्यकाल हेर्न र चित्त नबुझे अर्को चुनावबाट विकल्पमा सोच्न समेत उनले जिकिर गरे।
‘उहाँले जनताको सेवा गर्नुहुनेछ। जनताको सेवा नगरे हटाए भएहाल्यो नि जनता देशको मालिक हो जनता पाँच पाँच वर्षमा जनताले राम्रो काम गर्ने नेतालाई जिताएर पुरस्कार दिन्छ राम्रो काम गर्न नसक्नेलाई निकालिदिन्छ,’ उनले भने, ‘राम्रो काम मधेशका लागि लड्नुभएको छ। पाँच वर्ष कमसेकम हेर्नुहोस् त्यसपछि ध्यान दिनुहोला।’
बैशाख १० गते बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि गठबन्धन दलको सहयोगमा जसपा अध्यक्ष यादव उमेदवार बनेका छन्। उनी गएको मंसिरमा भएको निर्वाचनमा सप्तरी २ बाट निर्वाचनमा पराजय भोगेका थिए।


























