चितवन विशेष
राष्ट्रपतिद्वारा पत्रकार अधिकारी ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित

चितवन, वैशाख २–
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी संविधान दिवस २०७९ का अवसरमा प्रदान गरिएको ुप्रबल जनसेवाश्रीु मानपदवीबाट विभूषित हुनुभएको छ ।
नयाँ वर्ष २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई ‘प्रबल जनसेवाश्री’ मानपदवी प्रदान गर्नुभएको हो । अधिकारीले शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा मानपदवी विभूषण ग्रहण गर्नुभयो ।
पत्रकारीता मार्फत समाजमा पुर्याएको योगदानका आधारमा उहाँलाई विभूषित गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ११ निवासी अधिकारी संविधान दिवसका अवसरमा मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने क्रममा मानपदवीद्वारा विभूषित गरिएको थियो ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको सिफारिसमा जनसेवाश्री मानपदवी प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।
अधिकारी राष्ट्रिय समाचार समिति चितवन प्रमुख हुनुहुन्छ भने नेपाल प्रेस युनियन चितवनका निबर्तमान अध्यक्ष समेत रहनु भएको छ । अधिकारी चितवनबाट पत्रकारीता गरेर विभूषित हुने पहिलो व्यक्ती हुनुहुन्छ । चितवनमा रहेर बिगत २० वर्ष देखि अधिकारीले पत्रकारिता गर्दै आउनुभएको छ ।


























