चितवन विशेष
गीतानगरको अरुणोदय माविमा ५० लाखको अक्षयकोष स्थापना

चितवन, चैत ३०–
अरुणोदय माध्यमिक विद्यालयमा ५० लाखको अक्षयकोष स्थापना भएको छ । विद्यालयका पूर्व विद्यार्थी चोला कुमारी पन्तले आफ्ना बाबुआमाको स्मृतिमा अक्षयकोषको स्थापना गरेकी हुन् ।
पन्तका प्रतिनिधि अधिवक्ता रामकृष्ण तिवारीले एक कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापक रत्नप्रसाद सापकोटालाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै अधिवक्ता तिवारीले रकम अभावको कारण विद्यार्थीले आफ्नो अध्ययनलाई पूरा गर्न कठिनाइ नहोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना भएको बताए । अब कोही पनि विद्यार्थी आर्थिक अभावले अध्ययनबाट बन्चित हुनु नपर्ने उनको जिकिर छ ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सापकोटाले ठूलो रकमको अक्षयकोष स्थापनाले विद्यालयको शैक्षिक गुणस्तरलाई समेत उत्कृष्ट तुल्याउने विश्वास व्यक्त गरे। ‘विद्यार्थीले मापदण्ड अनुरुप छात्रवृत्ति प्राप्त गर्ने छन् । जसले विद्यार्थीलाई शैक्षिक सामग्री उपयोग गर्न सहज हुनेछ ।’ उनले भने, ‘यसको जतन र पूर्ण उपयोग गर्ने तर्फ विद्यालय प्रतिवद्ध छ ।’
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि विलास कोइरालाले अक्षयकोषको सदुपयोगलाई विद्यालयले प्राथमिकता दिने बताए। विद्यालयमा अक्षयकोष स्थापना गर्ने पूर्व विद्यार्थी एव अक्षयकोष संस्थापक चोला पन्तलाई धन्यवाद दिए ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा न ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठ, विद्यालय सल्लाहकार समिती संयोजक केदारनाथ कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भरतपुर–६, मा रहेको विद्यालयमा हाल प्रारम्भिक बाल कक्षादेखि कक्षा १२ सम्म नेपाली र अङ्ग्रेजी दुबै माध्यममा पढाइ हुँदै आएको छ । हाल विद्यालयमा ६ सय ५० भन्दा धेरै विद्यार्थी छन् ।


























