भिडियो

युट्युबमा वर्ष २०७९ मा धेरै हेरिएका १० गीत मध्ये शीर्ष स्थानमा ‘लजालु मायालु’

Banner

काठमाडौं, चैत २८-

वर्ष २०७९ मा युट्युबमा धेरै हेरिएका १० गीत मध्ये शीर्ष स्थानमा ‘लजालु मायालु’ रहेको छ । उर्गेन दोङ र अनु चौधरीको स्वरमा रहेको ‘लजालु मायालु’ युट्युबमा सबैभन्दा धेरै हेरिने गीत बनेको हो। ६ महिनाअघि रिलिज भएको उर्गेन र वीरेन्द्र दोङले संगीत गरेको यो गीतलाई चार करोडभन्दा बढी पटक हेरिएको छ । गीत टिकटक लगायतका प्लेटफर्ममा समेत भाइरल बन्यो ।

वर्षमा धेरै सुनिने गीतको दोस्रो स्थानमा सज्जनराज वैद्यको गीत ‘धैर्य’ छ । यो गीतलाई दुई करोड १८ लाख भन्दा बढी पटक हेरिएको छ । २०७९ सालको वैशाख १ गतेदेखि चैत मसान्तसम्म रिलिज भएका गीतको युट्युब भ्युजको आधारमा तयार पारिएको सूचीको उत्कृष्ट १० भित्र मिश्रित जनराका गीत अटाएका छन् ।

सूचीमा गीत, गायक-गायिका र भ्युज उल्लेख गरिएको छ ।

१. लजालु मायालु (उर्गेन दोङ र अनु चौधरी):४ करोड

२. छमक छमक (सन्तोष सुनार):३ करोड २ लाख

३. धैर्य (सज्जनराज वैद्य): २ करोड १८ लाख

५.कालो चश्मा (डोल्मा ह्योल्मो): २ करोड ६ लाख

६. सोल्टी बजार (शान्तिश्री परियार): २ करोड

७. ए हो र माया (हिमाल सागर र अनु चौधरी): १ करोड ९९ लाख

८. हाम्रो यो माया (उर्गेन दोङ): १ करोड ८० लाख

९. दर्शन सलाम (छक्कापञ्जा ४- डेभिड शंकर र साहिमा श्रेष्ठ): १ करोड ७२ लाख

१०. मेरी चम्पा (ट‌ंक तिमिल्सिना): १ करोड ६० लाख

यीबाहेक यस वर्ष केही यस्ता गीत निकै चर्चित भए, जसले दर्शकमाझ चर्चा बटुले । तिलकसिंह पेलाको संगीत तथा स्वर रहेको गजल ‘के लत बस्यो’ले यस वर्ष सर्वाधिक चर्चा बटुल्यो । यो गजलले भाइरल हुने होडबीच संगीतको बेग्लै आनन्द, मिठास र गायकी प्र्रस्तुत गरेको थियो । यो गजल गीतले पेला स्वयंलाई रातारात स्टार बनाइदियो । सोमबारसम्म ‘के लत बस्यो’लाई ६४ लाख पटक हेरिएको छ ।

७४ लाख भ्युज बटुलेको फिल्म झिंगेदाउको गीत ‘आगो बिना बिंडी जल्दैन’ पनि यस वर्ष भाइरल हुने गीतमध्ये पर्छ जसलाई ७४ लाख पटक हेरिएको छ । हरिवंश आचार्यको स्वरमा रहेको गीत ‘काउली’ पनि अहिले रुचाइएको मध्येको एक गीत हो । युट्युबबाहेक अर्को सांगीतिक प्लेटफर्म स्पटीफाइ पछिल्लो समय संगीतप्रेमी माझ निकै चर्चित छ । यो प्लेटफर्ममा पनि सज्जनराज वैद्य सबैभन्दा धेरै सुनिने गायकमध्ये पर्छन् ।

यसैगरी छुनुमुनु (आशिष अविरल), केशरी (कबड्डी ४- एसडी योगी), जरुरी कुरा छ (सम्हालिन्छ कहिले मन- अञ्जु पन्त र सुरेश लामा), फूलैफूल दिन्छौ कि रिमेक (शिव परियार), फाटेको मन (पशुपति शर्मा), बाबरी रंग (बाबरी- अस्मिता अधिकारी र अनमोल गुरुङ), मन भुल्छ (प्रकाश दूतराज) लगायत गीतमा पनि उल्लेख्य भ्युज रहे पनि उत्कृष्ट १० भित्र अटाउन सकेनन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>