Breaking News

रविका सहयोगी को हुन्, जसले रास्वपाबाट मन्त्री बन्नेसँग पैसा असुल्छन् ?

Banner

काठमाडौं,चैत २६-

सुशासन र राजनीतिक सुधारको नारा दिएर गत निर्वाचनबाट आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले मेडिकल व्यवसायीसँग पैसा ‘डिल’ गर्दै गरेको ‘अडियो टेप’ सार्वजनिक भएको छ । सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न साढे दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको अडियो सार्वजनिक भएको हो ।

सार्वजनिक अडियो टेपअनुसार अघिल्लो दिन अर्थात पुस मसान्तको साँझ सांसद ढाकाकुमारले प्रसाईसँग पैसा माग्छन् । छोटो कुराकानीमै प्रसाईले पैसाको व्यवस्थापन गरिदिने आश्वासन दिन्छन् । सँगै, उनले डा. तोसिमा कार्कीले माग्दा नदिए पनि अरुले माग्दा मेडिकल व्यवसायीले पैसा दिने आश्वासन दिन्छन् । सांसद श्रेष्ठले तोसिमामन्त्री बनेर काम पनि नभएको बताउँछन् ।

कपुरबोट मिडिया नामक फेसबुक पेजमा सार्वजनिक भएको अडियोअनुसार श्रेष्ठले आफूलाई स्वास्थ्यमन्त्री दिने निश्चित भएको भन्दै रविको ‘कोर’ टिमलाई पैसा बुझाउनुपर्ने बाध्यता सुनाउँछन् । भोलिपल्ट बिहान प्रसाई आफैले ढाकाकुमारलाई फोन गर्छन् । र, डिटेल कुरा बताउन आग्रह गर्छन् । त्यसपछि ढाकाकुमारले बेलिबिस्तारमा प्रसाईंलाई सुनाउँछन् ।

“हामीले स्वास्थ्य पाउने भयो । मलाई साढे दुई जति चाहियो भनेका छन् । मेरो पक्का चाहिँ भयो । आज मैले फिक्स गर्नु छ क्या सर । म फेरि आर्थिकमा त्यतिसारो ऊ छैन । मन्त्री पनि बन्नुपर्यो । अब यो स्वास्थ्य क्षेत्रलाई पूरै धोइपखाली र सुधार पनि गर्नुपर्यो । मैले धेरै सुधार पनि गर्छु, त्यसमा हजुरहरुको सहयोग, सपोर्ट चाहियो भन्ने कुरा हो क्या,” ढाकाकुमारले भन्छन् ।

त्यसपछि प्रसाईले रास्वपामा डाक्टर भनेको तोसिमा कार्की मात्रै भनेर बुझेको रहेछु भन्छन् । जवाफमा ढाकाकुमारले तीनजना डाक्टर भएको बताउँछन् । कुराकानीमा दुईजनाबीच राम्रो चिनजानसमेत नरहेको भान हुन्छ । “म, तोसिमा र डा. चन्दा कार्की छौँ । चन्दालाई त चिन्नुहुन्छ होला,” ढाकाकुमारले भन्छन् । त्यसो भनेपछि प्रसाईले उनको घर सोध्छन् । ढाकाकुमारले पोखरा भएको बताउँछन् । पढाइ कहाँ भनेर सोध्छन् । उनले चीनबाट एमबीबीएस गरेको बताउँछन् । त्यसपछि एमडी पनि नगरेको जानकारी दिन्छन् ।

त्यसपछि प्रसाईले डा ढाकाकुमारलाई पढाउन थाल्छन् । “हेर्नुस् है डाक्साब ! मेडिकल क्षेत्रमा धेरै समस्या छन् । देशमा भएका नर्सिङ कलेज सबै बन्द गराए । अहिले नर्सिङ पढ्न पाउँदैनन्,” प्रसाईले भनेका छन्, “दुबईका डान्स बारमा नेपाली चेली पठाउनुभन्दा नर्स पढाउँ । मैले त डाक्टर उत्पादन गरौं, बरु सयवटा मेडिकल कलेज खोलौँ । विदेशबाट एमबीबीएस पढ्ने विद्यार्थी ल्याउँ, स्वास्थ्य निःशुल्क गरौं, भनेको हुँ नि होइन त !” त्यसो भन्दा ढाकाकुमार ‘हो नि !’ भन्दै स्वीकृति जनाउँछन् ।

त्यसपछि ह्वाट्सएपमा भएको भन्दै प्रसाईले ढाकाकुमारलाई अस्वस्त पार्दै पार्टीभित्रको कुरा सोध्न थाल्छन् । र, रास्वपाका अरु नेताहरुसँग पनि आफ्नो कुरा हुने गरेको भेद खोल्छन् । “अनि मुकुलहरुले त नलिने भयौँ भन्थे त स्वास्थ्य र शिक्षा ?,” प्रसाईले सोध्छन् । जवाफमा ढाकाकुमारले मुकुललाई पनि धेरै कुरा थाहा नहुने बताउँछन् ।

“मुकुलजीलाई पनि थाहा छैन सबै कुरा । मुकुलजी पनि कोर टिममा छैनन् क्या । बाहिर त महामन्त्री नै हो,” ढाकाकुमारले भन्छन्, “पार्टीको कुरा गर्दा दुई/तीनजना छुट्टै हुनुुहुन्छ, सुरुआती क्षणदेखि नै सहयोग गर्ने रवि सरलार्ई ।” उनले त्यही टिमबाट आफूलाई कुरा आएको भन्दै त्यही दिन पैसाको कुरा ‘फिक्स’ गर्नुपर्ने बाध्यता सुनाउँछन् ।

“त्यही टिमबाट मलाई कुरा आएको हो । फेरि उधारो हँुदैन भन्छन्,” ढाकाकुमारले भन्छन् । त्यसपछि प्रसाईंले साढे दुई करोडको कुरा ठूलो नभएको बताउँछन् । त्यसपछि उनले आजको आजै भने पैसा नहुने बताउँछन् ।

“आज बन्द छ नि १ नौ लाख ९९ हजारभन्दा माथिको चेक साटिदैन । अलिकति टाइम राखेर गर्ने हो भने म सहयोग गर्छु । भोलि मेरो काम गर्नुपर्छ तपाईँले,” प्रसाईंले भन्छन् । त्यसपछि कामको चिन्ता नगर्न ढाकाकुमारले आश्वस्त पार्न डा. गोविन्द केसीलाई गाली गर्छन् ।

“कामको त चिन्तै नगर्नुस् न सर,” आश्वस्त पार्दै ढाकाकुमार भन्छन्, “दिक्क भाछ के यो गोविन्द केसी देखेर । कहिले मर्छ जस्तो भाछ मलाई त ! यो पूरै जेनेरेसन एमबीबीएस पढ्न नपाएको पनि त्यसैले गर्दा हो ।” उनको भनाइमा समर्थन जनाउँदै प्रसाईंले आफ्नी छोरीलाई पनि एमडी पढाउन तीन करोड खर्चिएर जापान पठाउनुपरेको सुनाउँछन् । र, डा. केसीकै कारण आफ्ने मेडिकल कलेज चलाउन नपाएको बताउँछन् ।

“म त कति मरिरछु भन्नुस् त ! भौतिक पूर्वाधार पुगेको, काठमाडौं उपत्यकाबाहिर मेची अञ्चलमा ३२ लाख ‘पपुलेसन’ छ, म त डुबेको छु कि छैन लु भन्नुस् त,” प्रसाईले भन्छन् । त्यसपछि ढाकाकुमारले उनलाई समर्थन जनाउँदै यस्तो विकृति हटाउनुपर्ने बताउँछन् । भन्छन्, “त्यही त, यसलाई हटाउनुपर्छ । तपाईको समस्या पनि समाधान गर्नुपर्छ ।”

त्यसपछि प्रसाईले ढाकाकुमारलाई भाइ भनेर सम्बोधन गर्न थाल्छन् । “अनि शिक्षा चाहिँ कसले लिनेभयो भाइ ?,” प्रसाईको प्रश्नमा ढाकाकुमार भन्छन्, “शिक्षा हामीलाई परेन जस्तो छ सर ।” त्यसपछि शिक्षा चाहिँ हजुरबुबा (केपी अ‍ोली)ले राखे होलान् भन्दै प्रश्न गर्छन् ।

“सायद राखेको हुन सक्छ,” ढाकाकुमारले भन्छन् । त्यसपछि प्रसाईले अर्कोतिर कुरा मोड्छन् । “यसपालि मलाई एफिलिएसन दिनुछ नि हजुरबुबा (केपी शर्मा ओली)ले !,” प्रसाईले भन्छन्, “किन भने काठमाडौं युनिभर्सिटिले एफिलिएसन दिएको छ । सिट मात्रै तोकिदिएको छैन । त्यो त नारायणकाजी श्रेष्ठको मान्छे हो नि त गिरिराज ।। त्यो गिरी । पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो क्या त्यो ।”

त्यसपछि ढाकाकुमार ‘ए ! हजुर हजुर’ भन्दै कुरा अघि बढाउँछन् । ढाकाकुमारले काम मिलेर गर्नेमा निश्चिन्त हुन आग्रह गर्छन् । “अब निश्चिन्त हुनुस्, तपाई म मिलेर काम गर्ने हो,” ढाकाकुमारले भन्छन् । त्यसपछि प्रसाईले केपी ओली आउने कार्यक्रम भएकाले त्यस दिन काठमाडौं आउन नसक्ने र भोलि अर्को दिन मात्र काठमाडौं आउने बताउँछन् ।

“अब हेर्नुस् आज त बन्द भयो, यसै चेक साटिदैन । केपी ओली झापा आउँदै हुनुहुन्छ । भोलि हजुरबासँगै म काठमाडौं आउँछु । त्यसपछि म तपाई भेटौँला । त्यसपछि म तपाईंलाई सहयोग गर्छु,” प्रसाईले भन्छन् । “तर, अलिकति टाइम लाग्छ है, पैसा मिलाएर निकाल्नु पर्छ । त्यत्तिकै निस्कँदैन,” प्रसाईले भन्छन्, “बैकले जम्मै सिस्टम खोज्छ, त्यति सजिलै हुँदैन । सिधै बाकसमा पैसा लिएर त गाह्रो छ । कुरा बुझ्नुभयो नि ! त्यो त कसैले गर्न सक्दैन आजको आजै, नेपालमा कसैले सक्दैन ।”

ढाकुमारले ‘हजुरलाई त साह्रै गाह्रो छ होला है विचरा’ भन्छन् । “गाह्रो छ नि ! यो पुस मसान्तको ब्याज बुझाएँ । यो स्वास्थ्य बिमाले १४/१५ कडोर रुपैयाँ अझै दिएकै छैन, अढाइ वर्षदेखि,” प्रसाईले भन्छन् । “बिमा पनि अहिले नेपालमा १२ अर्बको चाहिँ लगानी हुँदो रहेछ,” ढाकाकुमार भन्छन्, “बिमा सबैतिर लागु गर्नुपर्ने भाछ ।”

“बिमा कसरी लागु गर्ने त्यो म तपाईंलाई भन्दिन्छु । दुई करोड रुपैयाँ मैले दिने भए तपाईंलाई, यो पैसा तपाईंले रविलाई त बुझाउने होला नि होइन ?,” प्रसाईले प्रश्न गर्छन् । “अँ, मैले रवि सरलाई भन्दा पनि उहाँ देखा पर्नुभएको त छैन । दुईरतीनजना साथीहरु हुनुहुन्छ उहाँको । पार्टीलाई नै जान्छ भनेका छन् क्यारे,” ढाकाकुमारले भन्छन्, “कसरी गर्छन् थाहा छैन । पार्टीमा जान्छ कि जाँदैन भन्ने पनि थाहा छैन । पार्टी कमजोर छ, अहिलेको अवस्थामा गाह्रो छ ।” त्यसपछि प्रसाईले माघ २ वा तीन गते भेट्ने वचन दिन्छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>