Breaking News

नारायणगढमा गरिएको तटबन्धको गैडाकोटमा विरोध, पुलचोकमा चक्काजाम

Banner

गैडाकोट,चैत २३-

चितवन र नवलपुर हुँदै बग्ने नारायणी नदीमा भरतपुर महानगरपालिकाले एकतर्फिरुपमा तटबन्ध गरेको भन्दै गैँडाकोटवासीले विरोध गरेका छन् । ‘गैँडाकोट बताउँ अभियान सङ्घर्ष समिति’ले तटबन्धको काम तत्काल रोक्न भन्दै आज गैँडाकोटको पुलचोकमा विरोध प्रदर्शनसँगै सडक अवरुद्ध गरेको छ ।

समितिले बुधबार नारायणी नदी व्यवस्थापन कार्यालयमा ज्ञापनपत्र बुझाए पनि आफूहरुको माग सुनुवाइ नभएको भन्दै समितिले आज बिहीबार गैँडाकोटमा विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् । समितिका संयोजक गोकुल सापकोटाले नारायणगढतर्फ गरिएको तटबन्धका कारण आउँदो बर्खायामा गैँडाकोटतर्फ डुबान तथा धनजनको ठूलो क्षति हुनेसक्ने बताउनुभयो । नारायणगढमा एकतर्फि तटबन्ध बनाउन लागिएकाले त्यसलाई नरोकिए सिङ्गो गैँडाकोटवासीहरु आन्दोलित हुने उहाँको भनाइ छ ।

समितिले बुधबार नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएसँगै विरोधका कार्यक्रम सुरु गरेका हुन् । समितिका संयोजक गोकुल सापकोटाले चितवनतर्फ गरिएको तटबन्ध एकपक्षीय भएको बताउनुभयो । “हामीले पटक–पटक त्यो काम तत्काल रोक्न छलफल र कुराकानी गर्दै आएका थियौँ” उहाँले भन्नुभयो, “हाम्रो आग्रहलाई नसुनेपछि बाध्य भएर हामी आन्दोलनमा उत्रिनुपरेको हो ।”
नारायणी नदी संरक्षणसँगै गैँडाकोट र नवलपुर क्षेत्रको संरक्षणका लागि नारायणगढ बजारतर्फको तटबन्धको काम तत्काल रोक्नुपर्ने सापकोटाले बताउनुभयो । विरोध प्रदर्शनका क्रममा सहभागीहरुले ‘नदी मिच्न पाइँदैन’, वर्षायाममा सधैँ चोट डुबिसक्यो गैँडाकोट’, नारायणगढमा पहिले नै भयो, गैँडाकोटमा कहिले हो’ लगायतका प्लेकार्ड बोकेर नाराबाजीसमेत गरेका थिए । उनीहरुले विरोध प्रदर्शनसँगै दिउँसो १ बजेबाट एकघण्टासम्म गैँडाकोटमा पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका थिए ।

भरतपुर महानगरपालिकाले नारायणी नदीलाई ‘सी बिच मोडल’मा विकास गर्ने भन्दै नदी किनारमा हाल झण्डै रु १७ करोडको लागतमा तटबन्धको काम गरिरहेको छ । गैँडाकोट र नारायणगढ जोड्ने पुलको केही माथिपट्टि नारायणी नदीकिनारमा नारायणी नदी व्यवस्थापन कार्यालयले धमाधम तटबन्ध निर्माणको काम गरेको छ । कङ्क्रिटको त्यस्तो संरचनाले नदीको बहावलाई नवलपुरतर्फ फर्काउने र गैँडाकोटमा ठूलो क्षति हुने समितिले जनाएको छ ।

नारायणगढमा निर्माण गरिएको तटबन्धका कारण नारायणीमा आएको बाढीबाट गैँडाकोटको वडा नम्बर २, ५, ६, ७ र ९ नम्बर वडा डुबानमा पर्ने जोखिम छ । गैँडाकोट क्षेत्रमा रहेका सबै राजनीतिक दलहरुका प्रतिनिधि सम्मिलित संघर्ष समितिको बैठकले नारायणगढतर्फको तटबन्ध निर्माण कार्य तत्काल रोकिनु पर्ने र यो बर्खायामपछि बृहत् अध्ययन र छलफलपछि दुवै पक्षको सहमतिमा मात्रै त्यस्तो निर्माण कार्य हुनुपर्नेमा जोड दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>