चितवन विशेष

प्रचारप्रसारलाई तीव्र पार्दै जय जन्मभूमि

Banner

चितवन, चैत २२–

उपनिर्वाचन नजिकिँदै गर्दा जय जन्मभूमि पार्टी नेपालले प्रचारप्रसारलाई पनि तीव्र पारेको छ। पार्टीले बुधबारबाट भरतपुर महानगरपालिकामा वडा भेला सुरू गरेर प्रचारप्रसारलाई तीव्र पारेको हो। बुधबार वडा नं.२ को रामकृष्ण टोलबाट वडा भेलाको सुरूवात गरेको हो। भूपू सैनिक कल्याणकारी क्लबको संयोजनमा वडा भेलाको सुरूवात गरिएको क्लबका अध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिए।

‘हामी जिल्लाका सबै पालिका र वडामा पुग्छौँ,’ चितवन–२ का उमेदवारसमेत रहेका अध्यक्ष खड्काले भने, भूपू सैनिकमार्फत हामी आम जनताको समस्या र चाहनालाई बुझ्ने प्रयास गरिहेका छौँ।’ आफूहरू भारतीय सरकारको ‘पेन्सन’ खाएर नेपालको रक्षार्थ काम गर्न इच्छुक रहेको हुँदा राजनैतिक दलमार्फत जनतामाझ उपस्थित हुने प्रयास गरिएको उनले बताए। ‘राज्यले खटाएको खण्डमा हामी अझै पनि देशको रक्षा गर्न तयार छौँ,’ उनले भने, ‘सीमा सुरक्षाका लागि मेचीदेखि महाकालीसम्म कुनै पनि स्थानमा हामी गएर बस्न तयार छौँ। त्यो व्यवस्था राज्यले गरिदिनुपर्छ।’

क्लबका पूर्वअध्यक्ष रेशमलाल पौडेलले भूपू सैनिकको जातै भूपू भएकोले यसमा कुनै भाषा, धर्म र जाति नहुने बताए। ‘भूपू सैनिकको छुट्टै भाषा, छुट्टै धर्म र छुट्टै जाति हुँदैन,’ उनले भने, ‘त्यसैले एउटा भूपूले गर्न खोजेको सकारात्मक कर्ममा सबै भूपूले साथ दिनुपर्छ।’ चितवन–२ को उपनिर्वाचनमा भूपू सैनिकको तर्फबाट जय जन्मभूमि पार्टी नेपालमार्फत प्रेमबहादुर खड्काले उमेदवारी दिएको हुँदा उनलाई जिताइदिन पनि उनले आग्रह गरे।

पार्टीले नेपाली सेना, नेपाल प्रहरी, शिक्षक तथा भारतीय सेनाबाट सेवा निवृत्तहरूलाई संगठिन गराउँदै अगाडि बढिरहेको छ। यही क्रममा पार्टीभित्र सबै भूपूहरूलाई प्रवेश गराउने लहरको सुरूवात भएको क्लबले जनाएको छ। बुधबार मात्रै भरतपुरको वडा नं।२ मा रहेका २१३ परिवारका करिब छसय सदस्य जय जन्मभूमिमा प्रवेश गरिसकेको क्लबका अध्यक्ष खड्काले बताए।

नयाँ भए पनि वैकल्पिक शक्ति भएको हुँदा हरेक दलमा आवद्ध व्यक्तिहरूलाई समेटेर नयाँ शक्ति निर्माणमा लागेको उनले बताए। जनताले नयाँ चाहना राखेका कारण वैकल्पिक दलको रूपमा नयाँ दलको स्थापना भएको उनको भनाइ छ। तत्कालीन अवस्थामा विवेकशील साझा पार्टीका चितवन जिल्ला संयोजक भूपेन्द्र बस्नेतसमेत जय जन्मभूमि पार्टी नेपालमा समाहित भइसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>