चितवन विशेष

भरतपुर २९ चौकीडाँडामा खानेपानीको समस्या अन्त्य,खानेपानीको मेयर दाहालद्धारा उद्घाटन

Banner

चितवन,चैत २२-

चितवनको भरतपुर महानगरपालिका २९ स्थित पहाडी क्षेत्र चौकीडाँडामा खानेपानी आयोजना सञ्चालनमा आएको छ । चौकीडाँडा खानेपानी आयोजनाको आज (बुधबार) भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । आयोजनाको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुर २९ को सबै भन्दा ठूलो समस्याको रुपमा रहेको खानेपानीको समस्या सदाका लागि अन्त्य भएको बताउनुभयो । यो आयोजना सञ्चालनमा आएसँगै स्थानीयमा खुसीयाली छाएको समेत उहाँको भनाइ थियो ।

प्रमुख दाहालले यो खानेपानी आयोजनालाई जति सक्दो छिटो भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा समावेश गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । महानगरले ७ युनिट खानेपानी खपत गर्नेलाई निःशुल्क गर्ने सुविधा यो आयोजनालाई पनि समावेश गराईने उल्लेख गर्नुभयो ।

प्रमुख दाहालले पहिलो पटक भरतपुर महानगरपालिका प्रमुखमा निर्वाचित भएर भरतपुर–२९ मा आउने क्रममा यहाँका स्थानीयले सडकभन्दा पहिला खानेपानीको माग गरेकाले खानेपानीलाई प्राथामिकतामा राखेर काम गरेको स्मरण गर्नुभयो । यस अघि भरतपुर–२९ कै ढोडेनी लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आईसकेको छ । संघीय सरकार, प्रदेश सरकारको ५ करोड ९५ लाख तथा भरतपुर महानगरको १ करोड ७५ लाख तथा ६२ लाख २५ हजार बराबरको श्रमदान गरी ९ करोड ६ लाख ७५ हजार लागतमा उक्त खानेपानी आयोजना निर्माण भएको हो ।
उक्त आयोजनाबाट लामी डाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी,आरुबोटे, सती डाँडाँका ३ सय ५० घर लाभान्वित हुनेछन् । आयोजना अन्तरगत एउटा मुहान रहेको छ भने ८० लाख लिटरको कलेक्सन ट्याङकी छ । आयोजनाको थाम डाँडामा २ लाख लिटरको वितरण ट्याङ्की रहेको छ । करिब २५ किलोमिटर पाईप लाईन जडान भएको आयोजनामा डबल स्टेज पम्पिङ सिस्टम राखिएको छ ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री घनश्याम दाहाल, वडा नम्बर २९ का वडा अध्यक्ष सुर्य बहादुर गुरुङ, पूर्व अध्यक्ष मान बहादुर मगर लगायतले मन्तव्य राख्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>