Breaking News

चितवनमा रविविरुद्ध परेको तीन वटा उजुरीको दावी पुगेन, रविको उम्मेदवारी कायम गर्ने निर्णय

Banner

चितवन, चैत २२–

चितवन क्षेत्र नं.२ का उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन वटा उजुरीमा दावी नपुगेको निश्कर्ष निकाल्दै उनको उम्मेदवारी कायम राख्ने निर्णय भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले केहीबेर अघि तीन वटा उजुरीमा दावी नपुगेको भन्दै रविको उम्मेदवारी कायम गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले नारायणी अनलाइनलाई जानकारी दिए । ‘दुई स्वतन्त्रसहित ३ जना उम्मेदवारले हिजो रविविरुद्ध दावीविरोध गर्दै उजुरी दिएका थिए, रविको स्पष्टीकरण पछि उहाँहरुको दावी नपुगेपछि उम्मेदवारी कायम गर्ने निर्णय भएको छ ।”–आचार्यले भने ।

यस्तै अधिवक्ता युवराज पौडेल ‘सफल’ले दिएको उजुरीमा निर्वाचन आयोगले नै निर्णय गर्ने भएको छ । त्यसका लागि आयोगले रवि लामिछानेलाई ७ दिन भित्रमा जवाफ पेश गर्न पत्र पठाएको छ । उक्त पत्र आजै लामिछानेलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ । ७ दिन भित्रमा रविले दिएको जवाफलाई जस्ताकोतस्तै आयोगमा पठाएपछि आयोगले नै निर्णय गर्ने आचार्यले जानकारी दिए ।

आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आफै उपस्थित भएर लामिछानेले ६ पेजमा जवाफ दिँदै स्पष्टिकरण बुझाएका थिए । लामिछानेले पुरानै मतदाता नामावलीको आधारमा उम्मेदवारी दिएको भन्दै उजुरी परेको थियो । सोधिएका सबै प्रश्नको बुँदागत रुपमा लामिछानेले जवाफ दिएका छन् । लामिछानेविरुद्ध हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तीन जना उम्मेदवारले दावी बिरोध गर्दै उजुरी दिएका थिए । एउटा मेल मार्फत युवराज पौडेलले समेत उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा लामिछानेलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसोसम्ममा स्पष्टिकरण माग गरेको थियो । चितवन २ मा लामिछानेसंगै २४ जनाले उम्मेदवारी दिएका छन् । गत मंसिर ४ गते भएको निर्वाचनमा विजयी भएका रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरेपछि आउँदो वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>