अन्तर्राष्ट्रिय

वाल स्ट्रीट जर्नलका संवाददातालाई रिहा गर्न अमेरिकी राष्ट्रपतिको आह्वान

Banner

वासिङ्टन, चैत्र १८-

राष्ट्रपति जो बाइडेनले जासुसीको आरोपमा रुसमा पक्राउ परेका वाल स्ट्रीट जर्नलका संवाददाता इभान गर्शकोविचलाई थुनामुक्त गर्न आह्वान गरेका छन् । साथै उनले रुसी पत्रकारलाई अमेरिकाबाट निष्काशन गर्न पत्रिकाको सम्पादकीय बोर्डले गरेको अनुरोध अस्वीकार गरेका छन् ।

आँधीबाट मिसिसिपी राज्यमा भएको क्षतिको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति बाइडेनले पत्रकार इभानलाई मस्कोले रिहा गर्नुपर्ने बताएका हुन् । रुसको सङ्घीय सुरक्षा सेवाका अधिकारीले उनलाई रुसी सैनिककाबारेमा गोप्य सूचना प्राप्त गर्न खोजेको आरोपमा गत बुधबार रुसको चौथो ठूलो शहर येकातेरिनबर्गबाट पक्राउ गरेका थिए ।

पत्रिकाको सम्पादकीय समूहले विचार पृष्ठमा एउटा छोटो टिप्पणी प्रकाशन गर्दै अमेरिकामा रहेका रुसी राजदूत र सबै रुसी पत्रकारलाई देश निकाला गर्नुपर्ने बताएको छ । राष्ट्रपति बाइडेनले तत्काल त्यसो गर्ने सोचमा आफू नरहेको पनि स्पष्ट गरेका छन् ।

पत्रिकाले पत्रकार इभानलाई सम्बोधन गर्दै लेखको एक पत्रमा उनको रिहाइ एवम् सुरक्षाका लागि हरसम्भव प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ । उनको सुरक्षालाई पत्रिकाले उच्च महत्व दिएको जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>