Breaking News
चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

चितवन, चैत १८-
नेकपा एमालेले चितवन २ र तनहुँ १ मा उपचुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ । शनिवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।
बारा २ मा भने आइतबार मात्र टुंगो लाग्ने भएको छ ।
चितवन २ बाट एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो । उनी अनेरास्ववियुको राजनीतिमा स्थापित भएका जिल्लाका लोकप्रिय युवा नेता हुन् ।
तनहुँ १ मा उम्मेदवार बन्न लागेका खनालको नाममा शनिवार विहानै जिल्लाबाट आएका नेताहरुले बालकोट पुगेर सहमति जनाएका थिए ।नेपाल प्रहरीका पूर्व आइजिपी खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् । उक्त नगरपालिका तनहुँ क्षेत्र नम्बर १ मै पर्छ । उनी मङ्सिर ४ को निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवार बनेर रास्वपाका शिशिर खनालसँग दोस्रो भएका थिए ।
खनाललाई उम्मेदवार बनाउदा कांग्रेसका गोविन्दराज जोशी समूह र नेकपा एसका किसान श्रेष्ठको समेत समर्थन जुटाउन सकिने आँकलन एमाले नेताहरूको छ ।


























