चितवन विशेष
रोग पहिचान गर्न मौरी अस्ट्रेलिया पठाइयो

चितवन,चैत १५-
मौरीमा लाग्ने रोगको पहिचान गर्नका लागि मौरी अस्ट्रेलिया पठाइएको छ। चितवन, सलार्ही दाङ, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाबाट नमुना संकलन गरेर रोग पहिचान गर्न अस्ट्रेलिया पठाइएको हो।
नेपालमा मौरीमा लाग्ने रोग किराको पहिचान गर्ने प्रयोगशाला र जनशक्ति नहुँदा अस्ट्रेलिया पठाउन परेको मौरी पालन विकास कार्यक्रम भण्डाराका प्रमुख तथा वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोख्रेलले जानकारी दिए।
‘मौरीहरु धेरै मर्न थाले। उत्पादन घट्दै गयो,’ पोख्रेलले भने, ‘यस्तो हुनुको कारण पत्ता लगाउन माघको अन्तिममा मौरीको नमुना अस्ट्रेलिया पठाएका छौँ।’ उनका अनुसार, पठार्ईएको मौरीको नमुनाको रिपोर्ट वैशाखसम्ममा आउनेछ। रिपोर्टकै आधारमा उपचार थालिने उनले बताए। मौरीका छाउरा मर्ने, विभिन्न प्रकारका माइटहरुको समस्या भएपछि परीक्षण गर्न पठाइएको हो। मौरीमा अहिलेसम्म ७ किसिमका भाइरस देखिएका छन्। मौरीमा सुलसुले परजिविको समस्या छ। तर ,त्यसले सार्ने भाइरसको परीक्षण गर्ने प्रयोगशाला नेपालमा छैन। जनशक्ति पनि छैन। मौरीको नमुना मेलवन युनिभरसिटीका प्रोफेसर मार्फत पठाइएको छ। विभिन्न रोग किराका कारण महको उत्पादकत्व समेत बढाउन नसकिएको पौडेलले बताए।


























