Breaking News

प्रधानमन्त्री प्रचण्ड भोलि चितवन आउँदै, नेपाल कराते महासंघको महाधिवेशन उद्घाटन गर्ने

०
Banner

चितवन, चैत १०–

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (शनिबार) चितवन आउने भएका छन् ।

नेपाल कराते महासंघको महाधिवेशन समुद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड चितवन आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड विहान १०ः३० बजे हेलिकप्टर मार्फत चितवन आउन लागेको महाधिवेशन समारोहका संयोजक किशोर भट्टराईले नारायणी अनलाइनलाई जानकारी दिए । ‘महाधिवेशनको सबै तयारी पुरा भइसकेको छ, भोलि प्रधानमन्त्री ज्यूले कार्यक्रमको समुद्घाटन गर्नुहुनेछ’–संयोजक भट्टराईले भने ।

महाधिवेशन पटिहानीस्थित कवर्डहलमा हुन लागेको हो । महाधिवेशनमा सहभागि हुन आउने सबै प्रतिनिधिहरु चितवन पुग्ने क्रम जारी रहेको संघका अध्यक्ष युवराज लामाले जानकारी दिए । ‘प्रधानमन्त्री प्रचण्ड ज्यूले उद्घाटन गर्ने महाधिवेशनमा सहभागि हुन देशभरबाट प्रतिनिधिहरु चितवन आउने क्रम जारी छ, रातिसम्ममा सबै आइसक्ने छन्, समयमै कार्यक्रम गर्नेछौं’–अध्यक्ष लामाले भने ।

महाधिवेशनलाई सफल र व्यवस्थित बनाउन भरतपुर महानगरपालिका वडा नं.२२ ले पनि सहकार्य गरेको छ । वडा अध्यक्ष विष्णुराज महतोले भने–‘प्रधानमन्त्री ज्यू आउनुहुने भएपछि यहाँ छुट्टै माहोल बनेको छ, कार्यक्रमलाई व्यवस्थित बनाउन हामी सबै लागि परेका छौं ।’

दशक लामो विवाद र उतारचढावपछि नेपाली करातेले लय लिन लागेको छ । २०६९ साउनमा तत्कालीन सदस्यसचिव युवराज लामाले दावा गुरुङको नेतृत्वमा महासंघ गठन गरेपछि कराते विवादले ठूलो रुप लियो । संयोगले १० वर्षपछि लामाले नै करातेमा एकता र आगामी कार्यदिशाको मार्ग कोर्ने जिम्मेवारी पाएका छन् ।

गत माघ १२ गते राखेपले पूर्व सदस्यसचिव लामाको नेतृत्वमा बनेको २१ सदस्यीय तदर्थ समितिलाई ९० दिनभित्र निर्वाचन गर्ने म्यान्डेट दिएको थियो । त्यही अनुसार स्थानीय तहदेखि प्रदेशसम्मको अधिवेशन सकेर शनिबार साधारणसभा तथा अधिवेशन हुन लागेको हो । ७६ जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागि हुन लागेको संघका अध्यक्ष लामाले जानकारी दिए ।

कराते महासंघको तदर्थ समितिका २१ जना, सात प्रदेशबाट ५–५ जनाका दरले ३५ जना तथा महासंघमा आवद्ध चार विधाहरु (सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान) करातेबाट ५–५ का दरले २० गरी कुल ७६ जनाले नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउँछन् । करातेको नयाँ विधानअनुसार २५ सदस्यीय कार्यसमिति रहनेछ । तीमध्ये हरेक प्रदेशबाट १–१ गरी सातजना केन्द्रीय सदस्यलाई सम्बन्धित प्रदेशले नै चयन गरेर पठाउनेछ । अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ७ जना सदस्यको चयन साधारणसभाले गर्नेछ । कार्यसमितिमा कम्तिमा २ जना महिला हुनुपर्छ ।

सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन (डब्लूकेएफ)ले मान्यता दिएका करातेका चार विधा हुन् । २०३८ सालमा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुवात भएको यो । लामाका अनुसार राखेपमा सोतोकानका ९, गोजुरियोका ६, वादुरियोका ४ र सितोरियोका ३ संघ दर्ता छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>