Breaking News

नेपाल कराते महासंघको महाधिवेशन भोलि पटिहानीमा हुँदै, १० वर्षपछि नयाँ नेतृत्व चयन हुने

Banner

चितवन, चैत १०–

नेपाल कराते महासंघको केन्द्रीय महाधिवेशन चितवनको पटिहानीमा हुँदैछ । भोलि (शनिबार) पटिहानीस्थित कवर्डहलमा महाधिवेशन हुन लागेको हो ।

महाधिवेशनको अहिले अन्तिम तयारी भइरहेको छ । ‘महाधिवेशनलाई भव्य रुपमा सफल बनाउन तयारी तिव्र पारेका छौं, महाधिवेशनलाई ऐतिहासिक बनाउने गरि तयारी गरिरहेका छौं–महाधिवेशन उद्घाटन समारोह समितिका संयोजक किशोर भट्टराईले भने । केहीदिन यता चितवनमै रहेर भट्टराई महाधिवेशनको तयारीमा जुटिरहेका छन् ।

महाधिवेशनको समुद्घाटन समारोह विहान १०ः३० बजेदेखि सुरु हुने महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिए । उनका अनुसार महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा –माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

महाधिवेशनलाई सफल र व्यवस्थित बनाउन भरतपुर महानगरपालिका वडा नं.२२ ले पनि सहकार्य गरेको छ । वडा अध्यक्ष विष्णुराज महतोले भने–‘आफ्नै वडामा केन्द्रीय कार्यक्रम हुँदा यहाँको पर्यटन प्रवद्र्धनका साथै वडाको देशविदेशमा प्रचार हुन्छ, त्यसैले कार्यक्रमलाई भव्य रुपमा सफल, व्यवस्थित र उदाहरणीय बनाउन हामी पनि लागि परेका छौं ।’

पटिहानीमै महाधिवेशन गर्नका लागि वडा अध्यक्ष महतोले सहजीकरण गरेका थिए । दशक लामो विवाद र उतारचढावपछि नेपाली करातेले लय लिन लागेको छ । २०६९ साउनमा तत्कालीन सदस्यसचिव युवराज लामाले दावा गुरुङको नेतृत्वमा महासंघ गठन गरेपछि कराते विवादले ठूलो रुप लियो । संयोगले १० वर्षपछि लामाले नै करातेमा एकता र आगामी कार्यदिशाको मार्ग कोर्ने जिम्मेवारी पाएका छन् ।

गत माघ १२ गते राखेपले पूर्व सदस्यसचिव लामाको नेतृत्वमा बनेको २१ सदस्यीय तदर्थ समितिलाई ९० दिनभित्र निर्वाचन गर्ने म्यान्डेट दिएको थियो । त्यही अनुसार स्थानीय तहदेखि प्रदेशसम्मको अधिवेशन सकेर शनिबार साधारणसभा तथा अधिवेशन हुन लागेको हो । ७६ जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागि हुन लागेको संघका अध्यक्ष लामाले जानकारी दिए ।

कराते महासंघको तदर्थ समितिका २१ जना, सात प्रदेशबाट ५–५ जनाका दरले ३५ जना तथा महासंघमा आवद्ध चार विधाहरु (सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान) करातेबाट ५–५ का दरले २० गरी कुल ७६ जनाले नयाँ कार्यसमितिका लागि मतदान गर्न पाउँछन् । करातेको नयाँ विधानअनुसार २५ सदस्यीय कार्यसमिति रहनेछ । तीमध्ये हरेक प्रदेशबाट १–१ गरी सातजना केन्द्रीय सदस्यलाई सम्बन्धित प्रदेशले नै चयन गरेर पठाउनेछ । अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ७ जना सदस्यको चयन साधारणसभाले गर्नेछ । कार्यसमितिमा कम्तिमा २ जना महिला हुनुपर्छ ।

सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन (डब्लूकेएफ)ले मान्यता दिएका करातेका चार विधा हुन् । २०३८ सालमा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुवात भएको यो । लामाका अनुसार राखेपमा सोतोकानका ९, गोजुरियोका ६, वादुरियोका ४ र सितोरियोका ३ संघ दर्ता छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>