मनोरञ्जन

विवाहपछि सफल अभिनेत्रीहरू

Banner

काठमाडौँ, चैत ७ –

विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन् । यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा समेत पुगेका छन् । ‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि फिल्ममा काम पाइँदैन भन्ने बुझाइलाई समेत ती अभिनेत्रीले गलत सावित गरेका छन् ।

सदाबहार अभिनेत्रीको परिचय बनाउनुभएकी करिश्मा मानन्धरले विवाहपश्चात् सफलता प्राप्त गर्नुभयो । ‘कस्तुरी’ चलचित्र सुटिङका क्रममा निर्माता विनोद मानन्धरसँग उहाँको विवाह भएको थियो । विसं २०४६ मा निर्माण भएको ‘सन्तान’ बाट अभिनय यात्रा सुरु गर्नुभएकी अभिनेत्री मानन्धर एक छोरीकी आमासमेत हुनुहुन्छ । यद्यपि विज्ञापन, म्युजिक भिडियोमा समेत उहाँको व्यस्तता उस्तै छ ।

विसं २०५२ मा निर्माण भएको ‘दाइजो’ मा छोटो भूमिकामा देखिनुभएकी अभिनेत्री झरना थापा २०५५ सालमा पति सुनिलकुमार थापाले निर्माण गर्नुभएको चलचित्र ‘धर्मसङ्कट’बाट आफूलाई स्थापित गर्न सफल हुनुभयो । “मेरो चलचित्र यात्रामा ‘ए मेरो हजुर’को महत्त्व छ । यसमै अभिनय गरेपछि नयाँ उचाइ पाएँ । यही नाममार्फत निर्देशनमा समेत मेरो उदय भयो”, अभिनेत्री थापाले भन्नुभयो, “आमा भएकै कारण दर्शक घट्ने वा चलचित्रमा काम नपाउने भएन । मैले छोरीलाई समय दिन सकिनँ भन्ने चाहिँ लाग्थ्यो ।” अभिनेत्री रेखा थापाले विवाहपश्चात् प्राप्त गर्नुभएको सफलता उदाहरणीय नै छ । सञ्चिता लुइँटेल, प्रियङ्का कार्की, केकी अधिकारी, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मा विवाहपश्चात् अभिनयमा सक्रिय हुनुहुन्छ ।

“विवाहपश्चात् झनै स्वतन्त्र महसुस हुन्छ । विवाह अगाडि घरबाट साथ भए पनि समाजको बुझाइमा फरक हुनेरहेछ । श्रीमान्को साथले चलचित्रमा आफूलाई अगाडि बढाउन मद्दत गरिरहेको छ । म छोरी र बुहारीलाई सन्तुलन गरेर अभिनय यात्रामा छु”, अभिनेत्री शर्माले भन्नुभयो । उहाँले अभिनय गरेको ‘झिङ्गेदाउ’ यस वर्षको सुपरहिट भइसकेको छ भने ‘नाइ नभन्नु ल’ को छैटौँ शृङ्खला आउँदो वर्षको पहिलो दिन वैशाख १ मा प्रदर्शन हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>