मनोरञ्जन
म्युजिक भिडियो अनुभव सुनाउँदा युट्युवमा भ्रामक हेडलाइन, व्यक्तिगत जिवनमा नकारात्मक प्रभाव पारेको भन्दै नीताको भर्त्सना

काठमाडौं, चैत ४-
नायिका नीता ढुंगानाले आफ्नो सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेकी छन्। युट्युवमा आएका हेडलाइनहरुले आफ्नो व्यक्तिगत जिवनमा नकारात्मक प्रभाव पारेको भन्दै उनले आपत्ति जनाएकी हुन्। उनले युट्युवमा हुने यस्ता प्रचलनप्रति प्रेस काउन्सिललाई ध्यानाकर्षण समेत गराएकी हुन्।
आफूअभिनित म्युजिक भिडियो ‘मरिहत्ते’ को एक पत्रकार सम्मेलन कार्यक्रममा उनलाई भिडियो गर्दाको अनुभवबारे सोधिएको थियो। भिडियोमा उनी गर्भवती (प्रेग्नेन्ट) महिलाको भुमिकामा प्रस्तुत भएकी छन्। उनले सोही चरित्र निभाउँदाको अनुभवबारे मिडियामा आफ्ना धारणाहरु व्यक्त गरेकी थिइन्। अन्तर्वातापछि भिडियोहरु सार्वजनिक हुँदा युट्युवभरि आफू गर्भवती भएको र आमा बनेको हेडलाइन देखेपछि उनले भत्सर्ना प्रकट गरेकी हुन्।
उनको स्टाट्स यस्तो छ
कलाकार भएपछि विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ। विभिन्न चरित्र निभाउने क्रममा हामीले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ । तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जिवनमा त्यस्ता घटना भएको भन्ने आशय दिने भ्रामक हेडलाईन राख्ने र साना ठुला सामाजिक संजाल संचालकले त्यहाँका दृश्यहरुको गलत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन। यस्ता क्रियाकलापले धेरै कलाकारको जिवनमा नकारात्मक प्रभाव पारिरहेको छ। यस्तो प्रचलनप्रती मेरो घोर भत्सर्ना छ। बिहिबार मात्र म अभिनित ‘मरिहत्ते’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि एक पत्रकार सम्मेलन भएको थियो। तर, त्यहाँ पुगेका पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जिवनसंग जोडेर भ्रामक हेडलाइन राखेका छन, जुन आपत्तिजनक छ। मेरो जिवनमा यसले नकारात्मक प्रभाव पारेको छ। यस्ता क्रियाकलाप प्रती प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहान्छु। धन्यवाद ।