Breaking News

पर्यटनमन्त्री भन्छन्– नेपालमा पर्यटन नीति नै छैन

Banner

काठमाडौं,चैत ४-

नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैटौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धी नीति नै नभएको स्वीकार गरे । अबको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा गर्दै उनले रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनुपर्ने धारणा राखे ।

“पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौं । हाम्रो संस्कृति नीति बनाउनै सकेनौं, सकिएन छ । म त भर्खर मन्त्री भएको ६१ दिन भयो,” उनले भने, “चाइनिज कल्चर सेन्टर छ नेपालमा । स्पेनिस कल्चर सेन्टर छ नेपालमा । रसियन कल्चर सेन्टर, इन्डियन कल्चर सेन्टर छ नेपालमा । तर नेपालको त केही पनि छैन । ऊसको चाहिँ यहाँ पनि छ । हाम्रो चाहिँ केही पनि छैन । संस्कृतिलाई रिसर्च गर्ने सेन्टरहरु खोइ ? हामी लोप नभएर को लोप हुन्छ अब ?”

मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको बताए । उनले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि सोसम्बन्धी अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिए ।

“हामीले अनुसन्धानको क्षेत्रमा कति पनि काम गरेका छैनौँ । अहिले म भन्दै छु– अबको पर्यटन भनेको चाँही प्रकृतिको सम्पदा र मानवको सम्पदालाई मिश्रण गरेर बनेको नेपालीपनको पर्यटन हुन्छ,” उनले भने, “रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनुपर्छ ।” मन्त्री किरातीले अन्य देशका कल्चर सेन्टरहरु नेपालमा भए पनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरु लोप हुने अवस्था पुगेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>