चितवन विशेष

हात्तीको माउले छावाको वास्तै नगर्दा…

  • Logo
    रासस
  • २६ फाल्गुन २०७९, शुक्रबार
Banner

–कृष्ण आचार्य

भरतपुर, फागुन २६–

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ । बुधबार खोरसोरमा रहेकी गण्डकीकली सुत्केरी भएकी थिइन् । कर्मचारीलाई अन्य हात्तीको भन्दा गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपर्ने जिम्मेवारी छ ।

गण्डकीकलीले व्यथा लागेको लामो समयसम्म बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएको थियो । शल्यक्रियापश्चात हात्ती र छावा दुवैको स्वस्थ्य अवस्था राम्रो छ । प्रजनन तथा तालिम केन्द्र र राष्ट्रिय प्राकृतिक तथा संरक्षण कोषका चिकित्सक र प्राविधिकले नियमितरूपमा सुत्केरी हात्ती र छावाको स्वास्थ्य जाँच गरिरहेका छन् ।

छावालाई माउले दूध खान नदिएपछि आफैँले हात्तीको दूध दोएर खुवाएको केन्द्रका नायबसुब्बा मनपुरन चौधरीले बताए । “माउले छावाको वास्तै गरेको छैन, दूध पनि खान दिएको छैन”, उनले भने, “चिकित्सकको सल्लाहअनुसार दुई–दुई घण्टामा आधा लिटर पानी उमालेर ५० ग्राम पाउडर दूध राखेर खान दिएका छौँ ।” जबसम्म माउले दूध चुसेर खाँदैन तबसम्म छावाको विशेष स्याहार गर्नुपर्ने उनले बताए ।

चौधरीका अनुसार शल्यक्रिया गरेका कारण गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपरेको छ । उनले सुत्केरी हात्तीलाई एक–दुई दिनसम्म बिहान–बेलुका मान्छेलाई जस्तै तेल लगाएर जिउको मालिस गरिदिने गरेको बताए । तेलले मालिस गर्दा हात्तीलाई आराम हुनुका साथै कीरा–फट्याङ्ग्रासमेत नलाग्ने चौधरीले बताए ।

नेपालमै पहिलोपटक शल्यक्रिया गरेर हात्तीको छावा जन्माइएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिए । पच्चीस वर्ष उमेरकी गण्डकीकलीलाई मङ्गलबार बिहानैबाटै व्यथा लाग्न थालेको थियो । “व्यथा लागेको लामो समयसम्म पनि बच्चा जन्माउन नसकेपछि बुधबार दिउँसो शल्यक्रिया गरेर छावा जन्माइएको हो”, उनले भने । हात्तीको शल्यक्रिया गरेर बच्चा जन्माउनु दुर्लभ रहेको डा श्रेष्ठले बताए ।

गण्डकीकलीको पेटमा रहेको बच्चा योनीतिर निस्कनुपर्नेमा तल्लो भागतिर पोको परेर बसेको थियो । “हात्तीलाई सामान्यरूपमा सुत्केरी गराउन सकिने अवस्था देखिएन । माउ र बच्चाकै ज्यान जानसक्ने खतरा भएपछि शल्यक्रिया गर्ने निर्णयमा पुग्यौँ”, श्रेष्ठले भने । डा श्रेष्ठ नेतृत्वको टोली शल्यक्रियामार्फत छावा निकाल्न सफल भएको हो ।

गण्डकीकली हाल निकुञ्जमै रहेकी ५० वर्षकी प्रेरणाकलीबाट जन्मिएकी हुन् । उनको यो दोस्रो बेतको छावा हो । गण्डकीकलीको तीन वर्षअघि पहिलोपटक जन्मिएको छावा मरेको थियो । “हामीलाई बच्चाको भन्दा माउको बढी माया थियो । शल्यक्रिया गरेर गण्डकीकलीको पेटमा रहेको बच्चा झिक्न सके उसलाई बचाउन सकिन्छ कि भन्ने सल्लाह ग¥यौँ”, डा श्रेष्ठले भने, ‘करिब दुई घण्टा लगाएर गण्डकीकलीको पेटमा रहेको भाले छावा निकाल्न सफल भयौँ ।”

शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउनु दुर्लभ रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौलाले बताए । “शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउनु नेपालमा मात्रै नभएर विश्वमै दुर्लभ हो”, उनले भने, “नेपालमा त पहिलो हो नै तर शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउने घटना विश्वमै न्यून छन् ।” उपलब्ध साधनश्रोतले शल्यक्रिया गर्न सफल भएकामा उनले खुसी व्यक्त गरे ।

राष्ट्रिय प्रकृति संरक्षण केन्द्रका भेटेरेनरी प्राविधिक किरणराज रिजालले गण्डकीकली र छावाको स्वास्थ्यमा सुधार देखिएको बताए । सुरुआतमा श्वास फेर्न थाले पनि उठ्न नसकेको छावा बिहीबार बिहान आफैँ उठेर हिँडडुल गर्न थालेको उनले बताए । “सुरुमा छावा कमजोर थियो । राति भिटामिन र औषधि खुवायौँ”, रिजालले भने, “अहिले स्वास्थ्यमा सुधार भइरहेको छ ।” छावालाई विस्तारै माउसँग लगेर दूध खुवाउने प्रयास गरिरहेको उनको भनाइ छ । बाह्र दिनपछि छावाको न्वारन गरिदने रिजालले बताए । प्रमुख संरक्षण अधिकृतसहित प्राविधिकको उपस्थितिमा छावाको नाम राख्ने चलन छ ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले व्यथाले छट्पटाइरहेको हात्तीलाई चिकित्सक र प्राविधिकको टोलीले कुशलतापूर्वक बचाएपछि संरक्षणको क्षेत्रमा थप ऊर्जा मिलेको बताए । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठ, पशु चिकित्सक विकल्प कार्की, प्राविधिक किरण रिजाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरेनरी डा अमिर सडौला, क्यानडाका पशु चिकित्सक डा निख मास्टर, प्रजनन केन्द्रका माउतेलगायत टोलीले करिब दुई घण्टा लगाएर गण्डकीकलीको शल्यक्रिया गरेको हो । विसं २०५४ यता प्रजनन केन्द्रमा ६२ छावा जन्मिएका छन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area