मनोरञ्जन
अनाथ आश्रमलाई एक लाख सहयोग गर्दै महजोडीको सहभागितामा ‘जुठे’ ले मनायो १०० भाग

काठमाडौं, फागुन २४-
हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकप्रिय शृंखला ‘जुठे’ ले आज १०० भाग मनाएको छ । उक्त अवसरमा सिरियलले अनाथ बेसहारा आश्रम रीमा सेवा समाजलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । काठमाडौंको गोल्फुटारमा आयोजित ‘सफलता समारोह’ मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागी थिए ।
१०० भाग मनाउन आयोजित समारोहको उद्घाटन गर्दै महजोडीले समाज सुधारका लागि जुठेजस्ता सामाजिक सन्देशमूलक टेलिभिजन श्रृंखलाको भूमिका महत्वपूर्ण हुने बताए । जातीय भेदभाव, थिचोमिचो र समानताका लागि सिरियलले दिएको सन्देश अनुकरणीय रहेको चर्चा उनीहरुले गरे । महजोडीले १०० भाग पुगेकोमा बधाई दिंदै बाँकी भागको लागि शुभकामना दिए ।
सिरियललाई राजु मास्टर र बल्छी धुर्वेले निर्देशन गदै आएका छन् । ‘जुठे’मा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठको अभिनय छ ।

























