चितवन विशेष
२६ वर्षीय युवकको पेटमा रक्सीको बोत्तल,चितवनको पुरानो मेडिकल कलेजमा सफल सल्यक्रिया

चितवन, फागुन २३-
चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका एक युवकको पेटमा सिसाको बोतल भेटिएको छ । पेट फुलेको अवस्थामा सोमबार बिहान अस्पताल आइपुगेका ती युवाको पेटमा बोत्तल भेटिएको हो । ती युवक रौतहटको गुजरा नगरपालिका–९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरी रहेका छन् । अस्पतालका चिकित्सकले शल्यक्रिया गरी मन्सुरीको पेटबाट बोत्तल निकालिदिएका छन् ।
युवाको उपचारमा संलग्न पुरानो मेडिकल कलेजका कन्सल्टेन्ट ल्याप्रोस्कोपिक तथा जीआई सर्जन डा नारायणप्रसाद बेलवासेले एक्सरे पश्चात अपरेशन कोठामा लगेर पेट चिरेर हेर्दा ठूलो आन्द्रा फुटेर बोत्तल बाहिर निस्केको अवस्थामा भेटिएको बताए । उनले भने, ‘बोत्तल निकालेर पेटलाई सफा गरियो । फुटेको भागलाई सिलाइ दिएका छौं । मलद्वारबाट बोत्तल छिराइएको थियो ।’ अहिले बिरामीको होस आइसकेको छ । उहाँ कुराकानी गर्न सक्ने अवस्थामा हुनुहुन्छ । बिरामीले साथीहरुसँग गएको अवस्थामा बेहोस भएपछि अन्य कुरा थाहा नभएको बताएको डा बेलवासेले नारायणी अनलाइनलाई जानकारी दिए । उनले पहिले विरामीको अवस्था जटिल भए पनि शल्यक्रिया पश्चात सामान्य अवस्थामा आइसकेको जानकारी दिए ।
डा बेलवासेले यसप्रकारको अवस्था देख्दा कसरी यो भित्र गयो भन्नेमा आश्चर्यचकित भएको बताए । उनले भने, ‘जानीजानी यस्तो गर्नु सोच्दै नसोचेको अवस्थाको गम्भीर अपराध हो । यस्तो केस पहिलो हो ।’
मन्सुरीलाई आइतबार बिहान अचानक पेट दुखेपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाए तर त्यसले ठीक भएन । मुन्सरीको पेट निकै दुख्न थालेपछि उनलाई उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराइयो । अस्पतालले तत्कालै पेटको एक्सरे गरायो । रिपोर्टमा पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परे र उनीहरुले थप उपचारका लागि भरतपुर रिफर गरे ।
पुरानो मेडिकल कलेजमा सबै चेकजाँचपछि त्यहाँ पनि उनको पेटमा सिसाको बोतल नै देखिएपछि डा.बेलवासे नेतृत्वको टोलीले शल्यक्रिया गरी बोतल निकालेको हो । करिब अढाई घण्टामा शल्यक्रिया गरेर बोतल निकालेको डा.बेलबासेले जानकारी दिए ।


























