मनोरञ्जन
वैशाखदेखि फिल्म निर्माण तथा निर्देशन गर्दै प्रकाश सपुत

काठमाडौं, फागुन १६-
गायक तथा अभिनेता प्रकाश सपुतले वैशाखदेखि फिल्म निर्माण तथा निर्देशन गर्दै छन् । पहिलो फिल्म ‘परदेशी २’ रिलिज नहुँदै उनले वैशाखमा फिल्म घोषणा गर्ने तयारी गर्न लागेका हुन्।
यसैसाता धादिङमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशनको क्रममा उनले यसबारे सञ्चारकर्मीलाई जानकारी गराएका हुन् ।
प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित सपुतले निर्माण तथा निर्देशन पनि आफैं गर्ने तयारी गरेका छन् । आफ्ना गीतमार्फत चर्चित उनले म्युजिक भिडियोलाई पनि कथानक शैलीमा बनाउँदै आएका छन् । उक्त अवसरमा सपुतले भने, ‘आगामी वैशाखमा टाइटल घोषणा गर्ने तयारी हो ।’ फिल्म निर्माणबारे उनले विस्तृत खुलाएका छैनन् ।
नारायण रायमाझी निर्देशित सोसल ड्रामा ‘परदेशी २’बाट सपुतले अभिनयमा डेब्यु गरेपनि यो फिल्मको रिलिज पटक–पटक सर्दै आएको छ । गत दशैंमा आउने भनेर प्रचार भएपनि रोकिएको फिल्म पुनः आगामी दशैंमा प्रदर्शन गर्ने तयारी छ । यसबीचमा केही दृश्यको पुनः छायांकन गरिएको समेत जनाइएको छ ।
























