समाज

पत्रकारितालाई थप डिजिटलाईजेसन बनाउनु पर्छ : रेनु दाहाल

Banner

चितवन, फागुन १४–

प्रेस सेन्टर नेपाल चितवन शाखाको विशेष साधारण सभा शनिबार सम्पन्न भएको छ । भरतपुरको जलदेवि सामुदायिक वनको पार्कमा आयोजित साधारण सभा तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दैै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सञ्चार मध्यमहरुले नयाँ ढङ्गबाट समाचार तथा सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन् ।

अहिलेको आवश्यकता र समय सापेक्ष पत्रकारितालाई परिमार्जन गर्दै लैजानुपर्ने देखिएको उनको भनाइ छ । मेयर दाहालले खोजमूलक, तथ्यपरक तथा निष्पक्ष पत्रकारिताको अभ्यास गर्दै जानु पत्रकारको जिम्मेवारी, दायित्व र अभिभारा भएको भन्दै पत्रकारितालाई थप स्मार्ट बनाउनुपर्ने धारणा राखिन् । भरतपुर महानगरपालिकाको बारेमा सकरात्मक र रचनात्मक दुवै किसिमका समाचारहरु सम्प्रेषण हुने गरेकाले सही दिशामा महानगरपालिका अगाडि बढेको उनको भनाइ छ । ‘राम्रो मात्र भन्नुस्, भन्दिन म’, उनले भनिन्, ‘राम्रो त राम्रो भई हाल्यो । नराम्रा छन् भने खबरदारी गर्नुस् ।’

मेयर दाहालले प्रेस सेन्टरको स्थापना निकै संघर्षशिल, कठिन समयमा सुरुवात भएको औँल्याइन् । व्यवस्था परिवर्तन गर्न प्रेस सेन्टरले विगतमा खेलेको भूमिकाको प्रशंसा गर्दै उनले भरतपुर महानगरले चितवनका सबै प्रेस सम्बद्ध संस्थाहरुलाई समान ढङ्गबाट प्रर्वद्धन गर्दै आईरहेको दाबी गरिन् ।

स्थानीय सरकारले यहाँका श्रमजिवि पत्रकारका लागि लोककल्याणकारी विज्ञापन, जेष्ठ पत्रकारलाई पेन्सनका लागि रु २० लाखको कोष स्थापना, लेखनवृत्तिका लागि रु १५ लाख रुपैयाँ, पत्रकार महासंघको तालिम हलको लागि जग्गाको व्यवस्था तथा विभिन्न अवलोकन भ्रमणका लागि बजेट विनियोजन गर्दै आएको उनले जानकारी दिइन् ।

महानगर प्रमुख दाहालले प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारीदेखि वागमती प्रदेशका सचिव सुमन गैरेसम्मलाई सम्मान गरिन् । प्रेस सेन्टरका केन्द्रीय सचिव शान्ता अधिकारी, केन्द्रीय सदस्य प्रकाशमणि ज्ञावली, सन्तोष देउजा, प्रेस सेन्टरका वागमती प्रदेश अनुशासन आयोगका सदस्य गोपाल परियार, पत्रकार चिन्तामणि पौडेल, नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कोषाध्यक्ष संगिता भट्टराई, प्रेस सेन्टरका पूर्व जिल्ला उपाध्यक्ष वीरबहादुर सिंजाली र प्रविन बराल पनि सम्मानित भएका छन् ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, प्रदेश सांसदहरु ठाकुर ढकाल, ईश्वर सापकोटा ‘सुमन’, नेकपा माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, पत्रकार महासंघका सचिव सृजना अर्याल, पत्रकार महासंघका चितवन अध्यक्ष नारायण अधिकारी, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>