Breaking News

पुरानै गठबन्धन ब्युँताउने देउवा र दाहालबीच समझदारी, राष्ट्रपति कांग्रेसलाई

Banner

काठमाडौं,फागुन १०-

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पुरानै गठबन्धन ब्युँताउने समझदारी जुटेको छ । “हामी चुनावअघिकै गठबन्धन ब्युँताउनेगरी समझदारीमा पुग्यौं,” नेपाली कांग्रेसका एक प्रभावशाली नेताले भने, “यसमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच पनि एक चरणमा कुराकानी भएको छ । भोलि हामी सबै विषयमा प्याकेजमा निष्कर्षमा पुग्छौँ ।”

देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीको बैठकलगत्तै सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । त्यसलगत्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका प्रभावशाली नेताहरु घनश्याम भुसाल र बेदुराम भुसालसँग छलफल गरेका थिए ।

उनीहरुसँगको छलफलपछि केही पदाधिकारीसहित बालुवाटार पुगेका देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पुरानै गठबन्धन ब्युँताउन प्रस्ताव गरेका थिए । “हामीले अस्तिको कुरा पुनः सम्झायौँ,” कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, “विश्वासको मत दिएका छौँ राष्ट्रपतिमा सहयोग गर्नुस् भनेर आग्रह पनि गरेका छौँ । हामी उमेदवारी दिन्छौँ तपाइँहरु सहयोग गर्नुस् भनेर भन्यौँ ।”

जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीले निर्णय गर्ने अधिकार आफूलाई दिएको भए पनि बिहीबार नेताहरुसँग बसेर निर्णय गर्ने बताएका थिए ।
“मलाई पार्टीले जिम्मेवारी दिएको छ, तपाईँहरुले उठाएको विषयमा म सकारात्मक छु । चाँडै निर्णय दिन्छु,” प्रचण्डको भनाई थियो ।

स्रोतले दिएको जानकारीअनुसार राष्ट्रपति कांग्रेसले पाउनेछ भने प्रचण्डले कति वर्ष प्रधानमन्त्री लिने र त्यसपछि को भन्ने विषयमा पुरानै गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुको बिहीबार बस्ने बैठकले टुंगो लगाउनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>