Breaking News
चितवनमा बिगत ६ महिनामा २० पटक खाद्य बजार अनुगमन, मह र चिया न्यून गुणस्तरको भेटियो

चितवन, फागुन ३-
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले बिगत ६ महिनामा २० पटक खाद्य बजारको अनुगमन गरेको छ ।
कार्यालयले सार्वजनिक गरेको अर्ध वार्षिक प्रगति विवरणमा प्रथम त्रैमासिकमा १० वटा र दोस्रो त्रैमासिकमा १० वटा खाद्य बजार अगनुमगन गर्ने लक्ष्य राखिएकोमा सबै लक्ष्य पूरा भएको उल्लेख गरिएको हो ।
विवरणमा नागरिकले साउनदेखि पुससम्ममा नागरिकले खाद्यान्नबारे गुनासो वा उजुरी गरेपछि गरिने द्रुत बजार अनुगमन बिगत ६ महिनामा आठ पटक गरिएको छ । त्यस्तै दाना बजार अनुगमन १२ पटक, होटल तथा रेष्टुरेन्ट अनुगमन २४ पटक, खाद्य उद्योग अनुगमन १० पटक, सडकमा राखिने खाद्यान्नको एक पटक अनुगमन गरिएको उल्लेख गरिएको छ ।
त्यसैगरी चितवनमा विभिन्न ठाउँमा लाग्ने हाटबजार र महोत्सवहरुको यस अवधिमा चारपटक, संवेदनशिल खाद्य पदार्थ दूध तेल र पानीलगायतको उद्योगमा यस अवधिमा ६ पटक अनुगमन गरिएको खाद्य नियन्त्रण तथा गुण नियन्त्रण कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा चितवनको बजारमा भेटिएको एउटा कम्पनीको मह र चियामा न्यून गुणस्तर पाइएको जनाइएको छ । ती कम्पनीहरु दुवै काठमाडौँको भएकोले प्रारम्भिक अनुसन्धानपछि मुद्दा दर्ताको लागि काठमाडौँ पठाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख घननाथ अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले बजारमा अनुगमनमा सामान्य गल्ती देखिएमा सचेत गराउने र गम्भीर त्रुटि गरेको पाइएमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइने गरेको बताए । उनले गुणस्तरहिन मह र चियाले उपभोक्ता ठगिएको पाइएपछि मुद्दा दर्ताको लागि काठमाडौँ पठाइएको जानकारी दिए । काठमाडौँमा मुद्दा दर्ता गरेपछि मात्र ती कम्पनीको मह र चियाको नाम सार्वजनिक गर्ने प्रमुख अधिकारीले बताए ।


























