Breaking News

अनेरास्ववियुमा चितवनबाट सचिवमा चार र स्थायी कमिटीमा एक जनाको उम्मेदवारी घोषणा

Banner

चितवन, फागुन २-

नेकपा (एमाले) को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ ।

४ गतेसम्म काठमाडौंमा चल्ने महाधिवेशनमा चितवनका झण्डै एक दर्जन विद्यार्थी नेताहरुले केन्द्रीय सचिवदेखि, स्थायी कमिटी र केन्द्रीय कमिटीमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

केन्द्रीय कमिटीको सचिवमा देव पाठक, प्रकाश भट्ट, स्वरुप सुयाल र धिप्पन भण्डारीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने स्थायी कमिटी सदस्यमा बाग्मती प्रदेशबाट प्रकाश आचार्यको दाबी छ । पाठक नेकपा एमाले चितवन जिल्ला कमिटी सदस्य हुनाको साथै विद्यार्थी फाट उपप्रमुख हुन् । त्यस्तै भट्ट अनेरास्वयिुको स्थायी कमिटी सदस्य रहनाको साथै चितवन जिल्ला इन्चार्ज हुन् भने सुयाल स्थायी कमिटी सदस्य हुन् । अर्काे सचिवका आकांक्षी धिप्पन भण्डारी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रहनाका साथै भरतपुर महानगरपालिका इन्चार्ज हुन् । १५ जनाको केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, सदस्यहरुसहित १० जना सचिव रहने व्यवस्था छ ।

अनेरास्ववियु केन्द्रीय सदस्य एवम् चितवन जिल्ला सह–इन्चार्ज प्रकाश आचार्यले बाग्मती प्रदेशबाट अनेरास्ववियु स्थायी कमिटीमा आफ्नो दाबी पेस गरेर उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी १९९ जना रहने केन्द्रीय सदस्यमा चितवनबाट शिव ढकाल, रचना सापकोटा, सचेत सुवेदी, अमित गुप्ताको दाबी रहेको छ । उनीहरुले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । उम्मेदवारहरुको मनोनयन भने सुरु भएको छैन ।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनको काठमाडौँको प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । महाधिवेशन अघि अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले अनेरास्ववियुको आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास गरिने बताउँदै आएकी छन् । सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदानबाट निर्वाचन गर्नेगरी प्रवन्ध मिलाइएको छ । अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनमा देशभरका क्याम्पसहरुबाट एक हजार पाँचसयभन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>