Breaking News

भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा सौराहा बन्यो झिलीमिली, फुड फेस्टिबल सुरु

Banner

चितवन, माघ २९-

भ्यालेन्टाइन डेको अवसर पारेर सौराहामा खाना महोत्सव (फुड फेस्टिबल) को १७ औं संस्करण सुरू भएको छ ।
रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेवान) सौराहाले आज आइतबारबाट तीन दिने फुड फेस्टिबल सुरु गरेको हो । फेस्टिबल सुरू हुनुअघि विभिन्न संघ, संस्था र समुदायको झाँकी निकालिएको थियो ।

रेवान सौराहाले हरेक वर्ष गर्दै आएको यस प्रकारको फागुन २ गतेसम्म चल्ने फेस्टिबलले सौराहामा पर्यटक भित्र्याउने सहयोग पुग्ने विश्वास आयोजकको छ । फेस्टिबलमा माघ २९ र फागुन १ गते साँझ ५ बजेदेखि राति १० बजेसम्म र फागुन २ गते ‘प्रणय दिवस’ को दिन साँझ ५ बजेदेखि राति ११ बजेसम्म कार्यक्रम हुनेछ ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वन र वन्यजन्तुको अवलोकन गर्न आउने पर्यटकका लागि विश्वमै चर्चित गन्तव्य हो। यसलाई प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष फेष्टिबल आयोजना गर्ने गरेको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले बताए।

‘सडकमै खाऔं, सडकमै रमाऔ’ भन्ने नाराका साथ हात्तीचोकदेखि राप्ती ड्याकसम्म र मल्लुचोकदेखि गैंडाचोकसम्मको बजार क्षेत्रमा व्यवसायीहरूले सडक किनारमा खानाको परिकार बनाएर पर्यटकलाई पस्किने फेस्टिबलका संयोजक ध्रुव गिरीले जानकारी दिए ।

‘सौराहामा आएका स्वदेशी, विदेशी पर्यटकहरूले प्रणय दिवस मनाउन अन्य ठाउँहरूको खोजी गर्नै पर्दैन,’ गिरीले भने, ‘सौराहा आएर रमणीय दृश्य अवलोकन गर्ने, खानाको स्वाद लिने र मिठो आतिथ्यतामा प्रणय दिवस मनाउने वातावरण हामीले बनाएका छौं।’

फेस्टिबलका लागि हात्तीचोकदेखि गैंडाचोकसम्मको सडक माथि डाली र बत्ती राखेर सौराहालाई झिलिमिली बनाइएको छ । पोलहरूमा राष्ट्रिय झण्डा र ध्वजा, पतकाहरू टाँगिएका छन्। संयोजक गिरीले सौराहाको मुख्य बजारमा प्रवेश गर्नेबित्तिकै पर्यटकलाई नयाँ सौराहाको अनुभूति दिलाउने दाबी गरे ।

फेस्टिवलको अर्को आकर्षण जनजातिहरूको झाँकी र साँस्कृतिक कार्यक्रम रहेको सहसंयोजक नवीन नेपालले बताए । स्थानीय, स्वदेशी तथा विदेशी खानाका साथै स्थानीय कला संस्कृति, भेषभूषाको प्रवर्द्धन गर्ने उद्देश्य रहेको नेपालले बताए। चितवनमा रहेका विभिन्न जातजातिको कला, संस्कृति, आमा समूह, भजन समूहलगायत संघ संस्थाको झाँकी प्रदर्शन तथा प्रतियोगिता गरिने उनले बताए । फेस्टिबलमा दैनिक ५ हजार पर्यटकले अवलोकन गर्ने अनुमान आयोजकको छ । करिब ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>